काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता विवाद चुलिएको छ ।
महासंघ नेतृत्वले सदस्यता शुद्धीकरणका नाममा राजनीतिक आस्थाको आधारमा सदस्य वितरण र पुराना सदस्य कटौती गरेपछि विवाद चुलिएको हो । विवादसँगै महासंघको जेठ २६ गते हुने भनिएको नेतृत्व चयनको निर्वाचन समेत अन्योलमा परेको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महांघ नेतृत्वले गरेको निर्णयको कडा आलोचना गरेका छन्। उनले महासंघ नेतृत्वलाई आफ्नो सदस्यता खारेज गर्न चुनौती दिएका छन् । ‘बाहिर ट्रायलमा पठाएकै सूची अनुसारको नाम हो भने मेरो नाम पनि काटिदिनोस्, म गर्व गर्छु’, बस्नेतले सार्वजनिक रूपमा महासंघको नेतृत्वलाई चुनौती दिएका हुन् ।
बस्नेतले नेपाल पत्रकार महासंघलाई गैरपत्रकारको संस्था बनाउन खोजेको भन्दै आलोचना गरेका छन् । ‘समाचार लेख्नेलाई फाल्ने कुरामा सहमत हुन सकिन्न’, बस्नेतको धारणा छ ।
सदस्यता शुद्धीकरणको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरूले आज मंगलबार बिहान नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई महासंघको केन्द्रीय कार्यालयमा भेटी महासंघको कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय जानकारी गराएको छ ।
‘शुद्धीकरणका नाममा समाचार लेखेर बाँच्ने पत्रकारहरूलाई हटाउने यो प्रपञ्च हामी अब मान्दैनौँ, यो निकम्मा नेतृत्वले अब शुद्धीकरण गर्न सक्दैन’, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले भने ।
प्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण चाहेको बताउँदै पाण्डेले शुद्धीकरण विधि र प्रक्रियामा हुनु पर्ने बताए । सदस्यता शुद्धीकरणको लागि महासंघलाई अधिकतम लचकताका साथ साथसमर्थन गरेको भए पनि दोहोरो/तेहेरो मापदण्डका आधारमा सदस्यताको सूची तयार गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए। ‘मापदण्डलाई धुजा/धुजा बनाउने काम भयो’, पाण्डेले भने ।
प्रेस चौतारीमा आस्थावान् मात्र होइन, अब सम्पूर्ण श्रमजीवी पत्रकारको नेतृत्व प्रेस चौतारी नेपालले गर्ने उनले स्पष्ट पारे । ‘देशभर प्रतिरोधमा उत्रन्छौँ, हाम्रो सहभागिता बिना अघि बढे यसको जिम्मेवार स्वयम् महासंघको वर्तमान नेतृत्व हुनेछ’, पाण्डेले भने।
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकार महासंघ भित्र भएको भ्रष्टाचार र अनियमितता सार्वजनिक हुने डरले प्रेस चौतारीलाई त्यहाँ भित्र पस्ने ढोकै बन्द गर्ने नियतले सदस्यता कटौती गरिएको बताए। प्रेस चौतारी नेपाललाई वर्तमान नेतृत्वको यो निर्णय कुनै पनि हालतमा मान्य नहुने लामाले बताए ।
महासंघ नेतृत्वको यो निर्णय विरुद्ध देशव्यापी आन्दोलनमा जाने र महासंघ भित्र भएको अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्ने उनले बताए ।
‘महासंघको अक्षय कोषको पैसा समेत मासेको सूचना हामीले पाएका छौँ, लाखौँ लाखका चेकहरू काटिएका छन्, त्यहाँ भित्र व्यापक भ्रष्टाचार र अनियमितता भएको छ, त्यसलाई लुकाउन प्रेस चौतारी आबद्ध पत्रकारको सदस्यता नै कटाएर महासंघमा छिर्नै नदिने प्रयत्न हुँदैछ, यो हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन’, उनले भने ।
महासंघ नेतृत्वले महाधिवेशनले तय गरेको १५ बुँदे मापदण्डलाई पुरै लत्त्याएर मनलाग्दी सदस्यता थप र कटौती गरेको भन्दै उनले यसलाई स्विकार्न नसकिने बताए । अब सशक्त आन्दोलन मार्फत निकम्मा र अवैध बनिसकेको महासंघको नेतृत्वलाई हटाउनुको विकल्प नरहेको लामाको भनाइ छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण