नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् । यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसकेका उनी योसहित चौथोपल्ट प्रधानमन्त्री बन्न लागेका हुन्।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधान धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त गरी सशथ ग्रहण गराउने कार्यक्रम छ । नेपाली कांग्रेस र एमालेबीच यही १७ असारमा भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रचण्ड सरकार ढलेपछि राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । सो बमोजिम एमाले–कांग्रेसले ओलीलाई उक्त पदमा नियुक्त गर्न शुक्रबार राति नै दाबी पेस गरेका हुन् । कांग्रेस, एमालेसहित जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन १ सय ६६ सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका छन् ।
राष्ट्रपतिबाट ओलीलाई प्रधानमन्त्री नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको एमाले प्रमुख सचेतक महेश वर्तौलाले बताए । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । खासमा कांग्रेस र एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटी टुंग्याएका छन् । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उनले बताए । कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो