काठमाडौं – सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ । यस्तै, भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ । उनको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उनी यसअघि भारतका लागि सिफारिस भएका थिए ।
यस्तै यसअघि अमेरिकाका लागि सिफारिस गरिएका चन्द्रप्रसाद घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । यसअघि कतारबाट फर्काइएका डा. नेशरविक्रम ढकाललाई साउदी अरबको नयाँ राजदूतका लागि सिफारिस गरिएको छ । कतारका अमिरको नेपाल भ्रमण गराएपछि उनी चर्चामा आएका थिए ।
इजरायलका लागि धनप्रसाद पण्डित सिफारिस गरिएको छ । त्यहाँ कार्यरत कान्ता रिजाललाई अस्ट्रेलिया पठाउने सरकारले निर्णय गरेको छ ।यसअघि पोर्चुगलका लागि सिफारिस भएर पनि जान नपाएका सनिल नेपाल स्पेनका लागि सिफारिस भएका छन् ।
यता दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा परराष्ट्र मन्त्रालयका सहसचिव रिता धिताललाई राजदूतका रुपमा नियुक्त गर्न सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।
यस्तै रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।
एकैपटक २१ जना सचिवको सरुवा
सरकारले सचिवहरुको सरुवा गरेको छ । २१ जना सचिवहरुको एकैपटक सरुवा भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । उनी हाल जल तथा ऊर्जा आयोगमा थिए ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् ।
हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् ।
डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन् ।
सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाएकी छिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव खरिद अनुगमन कार्यालयबाट सरूवा भएका भरतमणि सुवेदीले जिम्मा पाएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालय पुगेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिवमा रक्षाबाट किरणराज शर्माको सरूवा भएको छ । वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ ।
राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन् ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो