पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ। जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो।
गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन्। उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताए। गत वर्ष मर्मत गरिएको ताल गत बुधबार आएको पहिरोले पुनःपुरिएर पहिलेकै अवस्थामा पुगेको उनले जानकारी दिए।
अविरल वर्षासँगै बुधबार आएको पहिरोले एउटा घर जोखिममा परेको छ भने सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला–४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए। उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताए।
समुद्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताए। करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेका छन्। ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेको उनले जानकारी दिए।
स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर आकर्षक र मनमोहक देखिन्छ। ‘यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो। यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ। यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएका थिए। अहिले पनि यहाँका सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन्। बराह देवता रहेको तालमा टाढाटाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्छ’, उनले भने।
कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि तालमा कमेरो माटोसहितको लेदोले भरिएको छ। सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताए। प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्दछ। मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ।
तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर दुई वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो। छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ। अहिले यहाँ मोटरबाटोकोसमेत सुविधा पुगेको छ।
तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ। हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ। यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय लालबहादुर अधिकारीले बताए। घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको उनको भनाइ छ।
‘छेउमा रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन’, अधिकारीले भने, ‘तालको बीचमा रहेको मन्दिर र बरको रुखले थप आकर्षक बनाएको छ। बराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ।’
जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै नसक्ने स्थानीय बताउँछन्। तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो। सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ। ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिरोले पुरिएर समस्या भएको स्थानीय अधिकारीले बताए।
कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घर विस्थापित बनेका थिए। यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेत बगरमा परिणत भएको थियो। गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो।
विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक बिरास मल्ल र आइटी इञ्जिनियर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका छन्।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती