स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए।
मन्त्री पौडेलले भने, “हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्नसक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्त्वपूर्ण प्रयास रहेको छ।”
अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए।
सो अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए। उनले भने, “यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी एकिन गर्ने हो।”
ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ। मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ।
“स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ,” अध्यक्ष पुनले भने, “हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ। उपकरणलाई ठिक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ। लाखौँ नागरिकले यसको सेवा लिनसक्छन्। त्यसैले यो सानोतिनो जिम्मेवारी होइन।”
सम्झौताअनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरूपको प्रतिवेदन दिनेछन्। आफै बनाउन के कति मूल्य र पार्टपूर्जा चाहिन्छ त्यसको अभिलेख तयार गरिनेछ। यस्ता काम आगामी दिनमा केन्द्रमार्फत नै अगाडि बढ्ने भएकाले उपकरण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। सरकारको एउटा मन्त्रालयले प्राविधिक रुपमा काम गराउन आविष्कार केन्द्रलाई विश्वास गर्न शुरू गरेको छ।
केन्द्रलाई राज्यले विश्वास गरेको, उपकरण प्रयोगमा आउनसक्ने सम्भावना बढेको हुँदा स्वास्थ्य क्षेत्रको खर्चको लागत घटाउन र प्राविधिक जनशक्तिको उपयोग हुनेछ।
सम्झौतापत्र कार्यान्वयन भएसँगै करोडौँ मूल्य पर्ने तर सामान्य मर्मत नगरिँदा स्वास्थ्य क्षेत्रमा प्रयोगमा नआएका उपकरण प्रयोगमा आउने, सामान्य मर्मतपछि ती उपकरण सञ्चालनमा आउँदा नयाँ खरिद गर्नु नपर्ने तथा स्वदेशी जनशक्ति, स्रोत र साधन प्रयोग हुने विश्वास लिइएको छ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन