आज कार्तिक १६ गते शुक्रबारको दिन तिहारको कुनै पनि पर्व नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज औंसीको दिन भएपनि तिहारको कुनै पनि पर्व नपरेको समितिको भनाइ छ ।
समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको बताए ।
कार्तिक १५ गते विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको उल्लेख छ ।
यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।
समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको उल्लेख छ ।
तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

सम्बन्धित खबर
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु