ढोरपाटन- शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ ।
पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए। यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ ।
बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानुभएका विकास क्षेत्रीले बताए । यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उनको भनाइ छ ।
एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ । रासस
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए