मुस्ताङ । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो।
हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ। अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो।
नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए।
उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दा बढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारीसाधन मुस्ताङ भित्रिएका छन्।
उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए। घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे।
यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ। मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ।
जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए। पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए।
‘मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउँछ,’ उनले भने।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो। त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो।
मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पुर्याउने गरेको छ। मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रजी फिल्म छायाङ्कन भइसकेका छन्। यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ