पोखरा । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ ।
निगमले पहिलोपटक शत्प्रतिशत् स्वदेशी सीप र पुँजीमा पोखरामा डिपो निर्माण गरेको हो । ७९ करोड रुपैयाँ लागतमा निर्मित डिपो उद्घाटन भने साउनमा गरिने तयारी रहेको बिहीबार पत्रकार सम्मेलनमा निर्माण परियोजना प्रमुख इन्जिनियर सुदीपकुमार यादवले बताए । निगमको ५५ वर्षको इतिहासमा आफ्नै देशको जनशक्ति, आफ्नै देशको प्राविधिक जनशक्तिले पहिलो परियोजना निर्माण गर्न सकिएको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चाप मध्यनजर गर्दै यहाँ १२ सय किलोलिटर क्षमताका ३ ठूला भण्डारणगृह निर्माण गरिएको प्रबन्धक ई. अशोक आर्यालले बताए। भर्टिकल स्टोरेज ट्यांकको उचाइ र व्यास १२/१२ मिटरको छ। हाल पोखरामा आन्तरिक उडानका लागि हाल दैनिक ३० देखि ३५ किलोलिटर इन्धन खपत हुने गरेको छ। दुई अन्तर्राष्ट्रिय उडान थपिए दैनिक करिब १ सय किलोलिटर खपत हुने अनुमान छ। यसर्थ, नवनिर्मित डिपो क्षमताले १ महिनाभन्दा बढी समयको मागलाई धान्न सक्छ। हाल पोखरा मुस्ताङचोकस्थित पुरानो विमानस्थलमा ६४ किलोलिटर क्षमताको डिपो सञ्चालित छ। यहाँबाटै नयाँ विमानस्थलमा इन्धन आपूर्ति गरिँदैआएको थियो।
नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी करिब १० हजार वर्ग मिटर जग्गामा नियमले डिपो बनाएको कन्सल्टेन्ट प्रमुख नारायण गौतमले बताए। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र परामर्शको काम गरेको हो। संस्थानका सहायक डिन सुरोज लामिछानेले नेपालकै लगानी र नेपालकै विज्ञले निर्माण गरेको डिपोले तोकिएको समयभन्दा छिटो बनेको दाबी गरे।
२०८० साउनमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले डिपो शिलान्यास गरेका थिए। इन्धनजस्तै प्रज्वलनशील पदार्थको कारोबार हुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ। यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै सम्भावित आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ।
डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको २ फायर फाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको १ जक्कीपम्प, ८ इन्चको पाइपजडित छ। विमानस्थल सञ्चालनको साढे २ वर्षपछि बल्ल डिपो निर्माण भए पनि पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा आवश्यक हवाई इन्धन उपलब्ध हुने अपेक्षा छ। २०७९ पुस १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प