उत्तराखण्डको बाढीमा १८ नेपाली बेपत्ता, जाजरकोटका एकै वडाका १३ जना

बाढी वितण्डा

उत्तराखण्डको बाढीमा १८ नेपाली बेपत्ता, जाजरकोटका एकै वडाका १३ जना

प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

uttarkashi

भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो ।

जाजरकोटका मात्रै १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर जाजरकोट कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिए । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरूसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् । सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र

खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको व्यक्त गरेका हुन् ।

‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds