प्रदेश प्रमुखको वृद्धाश्रममा ‘बर्थडे सेलिब्रेशन’

सम्मान

प्रदेश प्रमुखको वृद्धाश्रममा ‘बर्थडे सेलिब्रेशन’

परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको गाँस, बास र सुरक्षाका लागि वृद्धाश्रम आवश्यकः भट्ट

pp birthday (1)

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएका छन् । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाएका हुन् ।

प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको गाँस, बास र सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताए । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उनको भनाई छ ।

उनले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गरे । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भने ।

वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताए ।

ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उनको भनाई छ ।

वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds