चौतर्फी आलोचना, पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।
गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरे । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा परे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहुसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।
उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।
चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गरेका थिए । नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् । नेकपाको उच्च स्रोतले भन्यो, ‘पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि गौतम स्वयंमले काठमाडौं ७ बाट चुनाव लडि्दन भन्नु भएको छ ।’
गौतमकै विषयमा बिहीबार काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए । पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिए ।
नेता गौतमको चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो । गौतमको चर्चा चलेपछि पार्टीले स्थानीय वस्तुस्थितिको समेत आकलन भयो । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि गौतमका लागि अवस्था प्रतिकूल बन्यो ।
पार्टी केन्द्रमा पनि गौतमको विषय विवादित बनेको छ । नेताहरू ईश्वर पोखरेल, भीम रावलमात्र होइन, गौतमसँग निकट मानिएका महासचिव विष्णु पौडेलसमेत यो निर्णयमा सन्तुष्ट छैनन् । पौडेलले बिहीबार सार्वजनिक रूपमै गौतम अब चुनावमा उठ्न नहुने बताएका छन् ।
गौतम काठमाडौं ७ मा मात्र चुनाव नलड्ने हो वा उपचुनावबाटै नआउने हो प्रष्ट भएको छैन । बर्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा थिए । सुरुमा उनले डोल्पाका धनबहादुर बुढालाई राजीनामा दिन सहमत पनि गराएका थिए । तर, बुढा पछि हटेपछि गौतमले दैलेख र बाँकेतिर आँखा लगाए । तर, सबैतिर सकारात्मक वातावरण नबनेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराएका थिए ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष