स्याङ्जाको वालिङ नगरपालिका–१ बौवास्थित अर्मादीखोलामा पक्की पुल निर्माणको काम अघि बढाइएको छ । नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला कोरिडोरअन्तर्गत पर्ने यो पुल बनेपछि सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
आँधीखोला र अर्मादीखोलाको दोभान क्षेत्रमा पुल बन्ने भएपछि वालिङ बजारबाट सरसफाइ केन्द्रसम्मको आवतजावत सहज हुने नगरपालिकाले जनाएको छ । पुल सञ्चालनमा आएपछि दैनिक सङ्कलन हुने कुहिने, नकुहिने तथा अन्य फोहोर सरसफाइ केन्द्रसम्म पुर्याउन सहज हुने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले बताए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदा सर्वसाधारणलाई समय र खर्च दुवै बचत हुने उनको भनाइ छ ।
पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग तीन करोड ३७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । विसं २०८३ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एक स्पानमा बन्ने पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ ८ दशमलव ४० मिटर रहनेछ । हाल पुलको फाउन्डेसन निर्माणको काम सुरु भइसकेको इन्जिनियर रेग्मीले जानकारी दिए ।
यसअघि हिउँदमा खोलाबाटै सवारीसाधन वारपार गरिए पनि वर्षायाममा ठूलो समस्या हुने गरेको थियो । सरसफाइका गाडी तथा दैनिक ढुवानी अन्य बाटो घुमाएर लैजानुपर्दा समय र खर्च बढ्ने गरेको स्थानीयको गुनासो थियो । खेतीपाती गर्ने किसानलाई पनि वर्षामा ट्याक्टर तथा अन्य साधन आवतजावत गर्न कठिन हुँदै आएको थियो ।
वालिङ बजारबाट सरसफाइ केन्द्र पुग्न अर्मादी र मिर्दी खोलाको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । यस वर्ष अर्मादीखोलामा पुल बन्न थाले पनि मिर्दी खोलामा भने अझै खोलामै सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
वर्षायाममा पनि आँधीखोला कोरिडोरमा निर्वाध सवारी सञ्चालन गर्ने लक्ष्यसहित पुल निर्माण अघि बढाइएको नगरपालिकाले जनाएको छ । इन्जिनियर रेग्मीका अनुसार आगामी आर्थिक वर्षमा मिर्दी खोलामा पनि पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।
आँधीखोला किनारैकिनार बनेको कोरिडोरमा पुलहरू निर्माण भएसँगै आसपासका खेतीयोग्य जमिनमा उत्पादित कृषि उपज तथा नदीजन्य सामग्री ढुवानी सहज हुने अपेक्षा गरिएको छ । कोरिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग र वालिङ बजारभित्रका सडकमा सवारी चाप घट्ने विश्वास लिइएको छ ।
सम्बन्धित खबर
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त
कालीगण्डकीमा समयमै बनेको होस्ती पुल, आँधीघाट पुलले भने खायो आठ वर्ष
कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
अर्मादीखोलामा पक्की पुलको काम सुरु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?