समयमै सकिनुपर्ने काम एक वर्ष ढिलाइ भएपछि घुम्ती–चिसापानी सडकको कालोपत्रेले पछिल्लो समय तीव्रता पाएको छ । काउले–सालडाँडा खण्डअन्तर्गत करिब आठ किलोमिटर सडक कालोपत्रे गर्ने काम अहिले सक्रिय रूपमा अघि बढिरहेको छ ।
करिब २५ वर्षअघि ट्रयाक खुलेको यस सडकको दोस्रो खण्ड पहिलोपटक कालोपत्रे हुन लागेको हो । २०७९ असार १९ गते सम्झौता गरेर निर्माण कम्पनीले काम थालेको थियो । २७ महिनाभित्र सक्ने गरी टुन्डी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार २०८१ असोज २० गतेसम्म काम सक्नुपर्ने भए पनि ढिलाइ भएको थियो । चालू आर्थिक वर्ष २०८२/८३ को भदौदेखि भने कालोपत्रेले गति लिएको हो ।
सडक फराकिलो बनाउने, समथर पार्ने, टेवा पर्खाल र नाला निर्माण तथा गिटी बिछ्याउने काम सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । चालू आवको अन्त्यसम्ममा सम्झौताअनुसार सबै काम सकिने र अब बजेट अभावका कारण कालोपत्रे नरोकिने कार्यालयले जनाएको छ ।
२७ किलोमिटर लामो यस सडकको पहिलो खण्ड घुम्ती–काउले खण्डको ५.५ किलोमिटर सडक भने आव २०७७/७८ मा पूर्वाधार विकास कार्यालयले करिब १६ करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको थियो । नयाँ ट्रयाक आव २०५७/५८ मै खुले पनि पहिलो खण्ड नै कालोपत्रे हुन करिब २० वर्ष लागेको थियो ।
यस सडकले पुतलीबजार नगरपालिका र आसपासका पुरानो बहाकोट, कोल्मा, ओरस्टे, किचनास, मग्याम चिसापानी र चित्रेभन्ज्याङ क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोडेको छ । सडक पूरा भएपछि पुतलीबजार नगरपालिका–१, २, ८ र ९, बिरुवा गाउँपालिका–३, ४ र ५ तथा हरिनास गाउँपालिका–१, २, ३ र ४ सहित तनहुँको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी र राईपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलका अनुसार नयाँ ट्रयाक खोल्ने बेला स्थानीयबीच तानातान भएको र ट्रयाक खुलेपछि पनि बजेट अभावका कारण समयमै सडक स्तरोन्नति हुन सकेको थिएन । अहिले भने लामो प्रतीक्षापछि सडक कालोपत्रेले गति लिँदा स्थानीयमा आशा बढेको छ ।
सम्बन्धित खबर
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्