समयमै सकिनुपर्ने काम एक वर्ष ढिलाइ भएपछि घुम्ती–चिसापानी सडकको कालोपत्रेले पछिल्लो समय तीव्रता पाएको छ । काउले–सालडाँडा खण्डअन्तर्गत करिब आठ किलोमिटर सडक कालोपत्रे गर्ने काम अहिले सक्रिय रूपमा अघि बढिरहेको छ ।
करिब २५ वर्षअघि ट्रयाक खुलेको यस सडकको दोस्रो खण्ड पहिलोपटक कालोपत्रे हुन लागेको हो । २०७९ असार १९ गते सम्झौता गरेर निर्माण कम्पनीले काम थालेको थियो । २७ महिनाभित्र सक्ने गरी टुन्डी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार २०८१ असोज २० गतेसम्म काम सक्नुपर्ने भए पनि ढिलाइ भएको थियो । चालू आर्थिक वर्ष २०८२/८३ को भदौदेखि भने कालोपत्रेले गति लिएको हो ।
सडक फराकिलो बनाउने, समथर पार्ने, टेवा पर्खाल र नाला निर्माण तथा गिटी बिछ्याउने काम सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । चालू आवको अन्त्यसम्ममा सम्झौताअनुसार सबै काम सकिने र अब बजेट अभावका कारण कालोपत्रे नरोकिने कार्यालयले जनाएको छ ।
२७ किलोमिटर लामो यस सडकको पहिलो खण्ड घुम्ती–काउले खण्डको ५.५ किलोमिटर सडक भने आव २०७७/७८ मा पूर्वाधार विकास कार्यालयले करिब १६ करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको थियो । नयाँ ट्रयाक आव २०५७/५८ मै खुले पनि पहिलो खण्ड नै कालोपत्रे हुन करिब २० वर्ष लागेको थियो ।
यस सडकले पुतलीबजार नगरपालिका र आसपासका पुरानो बहाकोट, कोल्मा, ओरस्टे, किचनास, मग्याम चिसापानी र चित्रेभन्ज्याङ क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोडेको छ । सडक पूरा भएपछि पुतलीबजार नगरपालिका–१, २, ८ र ९, बिरुवा गाउँपालिका–३, ४ र ५ तथा हरिनास गाउँपालिका–१, २, ३ र ४ सहित तनहुँको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी र राईपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलका अनुसार नयाँ ट्रयाक खोल्ने बेला स्थानीयबीच तानातान भएको र ट्रयाक खुलेपछि पनि बजेट अभावका कारण समयमै सडक स्तरोन्नति हुन सकेको थिएन । अहिले भने लामो प्रतीक्षापछि सडक कालोपत्रेले गति लिँदा स्थानीयमा आशा बढेको छ ।
सम्बन्धित खबर
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
अर्मादीखोलामा पक्की पुलको काम सुरु
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति