स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पछिल्ला चार वर्षमा शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार शैक्षिक सत्र २०७९ देखि २०८२ सम्मको अवधिमा आधारभूत तहको नतिजा उल्टिने गरी सुधार देखिएको हो ।
२०७९ सालमा आधारभूत तहमा जम्मा १८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए भने ८२ प्रतिशत विद्यार्थी नन–ग्रेडेड थिए । तर २०८२ सालको वार्षिक परीक्षामा भने ९२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ८ प्रतिशत मात्रै नन–ग्रेडेड रहेका छन् ।
उच्च जिपिए ल्याउने विद्यार्थीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको गाउँपालिकाले जनाएको छ । २०७९ मा सीमित विद्यार्थीले मात्र ३.० जिपिए ल्याएका थिए । २०८१ मा यो संख्या करिब ६० प्रतिशत पुगेको थियो भने २०८२ मा ९० प्रतिशत विद्यार्थीले ३.० भन्दा माथि जिपिए ल्याएका छन् ।
कक्षागत नतिजामा समेत सुधार देखिएको छ । कक्षा ३ मा २०७९ सालमा २४.३९ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए । तर २०८२ मा परीक्षामा सहभागी सबै १ सय ३४ विद्यार्थी ग्रेडेड भएका छन् ।
शिक्षालाई उच्च प्राथमिकतामा राखेर योजना अनुसार काम गर्दा नतिजा सुधार भएको हो । शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबीच साझा जिम्मेवारीको भावना विकास गरिएकाले सकारात्मक परिणाम आएको हो ।
– प्रकाश तिवारी
अध्यक्ष, अर्जुनचौपारी गाउँपालिका
कक्षा ५ मा २०७९ मा १७.१२ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए भने २०८२ मा यो संख्या ८७.३४ प्रतिशत पुगेको छ । सो वर्ष १ सय ५८ विद्यार्थीमध्ये १ सय ३८ जना ग्रेडेड भएका थिए ।
कक्षा ८ मा पनि उल्लेखनीय सुधार देखिएको छ । २०७९ मा १२.८३ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए भने २०८२ मा ९१.०१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी १ सय ७८ जनामध्ये १ सय ६२ जना सफल भएका छन् ।
समग्रमा कक्षा ३, ५ र ८ मा सहभागी ४ सय ७० विद्यार्थीमध्ये ४ सय ३४ जना ग्रेडेड भएका छन्, जुन ९२.३४ प्रतिशत हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शिक्षालाई उच्च प्राथमिकतामा राखेर योजना अनुसार काम गर्दा नतिजा सुधार भएको बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबीच साझा जिम्मेवारीको भावना विकास गरिएकाले सकारात्मक परिणाम आएको बताए ।
उनका अनुसार शिक्षक तालिम, नियमित अनुगमन, अतिरिक्त कक्षा, स्वास्थ्य शिविर, चेन्ज मेकर क्लब तथा संस्कार शिक्षा कार्यक्रमले पनि नतिजा सुधारमा टेवा पुगेको छ ।
यस्तै, शिक्षा शाखा प्रमुख कमला चापागाईंले शिक्षकहरूको सक्रियता नै सफलताको मुख्य आधार भएको बताइन् । गाउँपालिका र रूम टु रिडको सहकार्यमा सञ्चालन गरिएको साक्षरता कक्षाले विद्यार्थीको पठन सीप बढाउन सहयोग पुगेको उनको भनाइ छ ।
गाउँ शिक्षा समितिका सदस्य तथा घण्टे माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु चापागाईंले परीक्षा प्रणाली सुधार, विषयगत जिम्मेवारी, अतिरिक्त कक्षा र केन्द्रगत परीक्षा सञ्चालनले नतिजा सुधारमा सहयोग पुगेको बताए ।
पञ्चकन्या माध्यमिक विद्यालयका अभिभावक प्रेम ढकालले सामुदायिक विद्यालयको गुणस्तर बढेसँगै संस्थागत विद्यालयबाट समेत विद्यार्थी भर्ना हुन थालेको बताए ।
शिक्षकहरूको सक्रियता नै सफलताको मुख्य आधार हो । गाउँपालिका र रूम टु रिडको सहकार्यमा सञ्चालन गरिएको साक्षरता कक्षाले विद्यार्थीको पठन सीप बढाउन सहयोग पुगेको छ ।
– कमला चापागाईं
शिक्षा शाखा प्रमुख, अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी गाउँपालिकाले छोटो अवधिमै शिक्षा क्षेत्रमा देखाएको प्रगति सकारात्मक मानिए पनि यसलाई दिगो बनाउन निरन्तर लगानी, अनुगमन र प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु