काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै रास्वपा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण २०७ सालमा बनेको संविधान अनुसार जति ऐन र कानुन संसदले बनाउनु पर्थ्याे त्यो नसकेको बताए ।
उनले उनले सदनमा विपक्षी दलहरुको विरोधलाई देखाउँदै भने, ‘यतिधेरै ऐन–कानुन किन बन्न सकेनछ भन्ने कुरा यो तमासाले देखाइरहेको छ ।’ विपक्षीले जुन संसदीय तामासा देखाइरहेका छन् त्यो सँधै सकारात्मक मात्र नहुने बताउँदै सांसद खरेलले जनताको पक्षमा कानुन निर्माण गर्ने पक्षमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु त्यहि रुपमा जवाफदेही र जिम्मेवार बन्नु पर्ने बताएका छन् ।
सांसद खरेलले पर्यटनसम्बन्धी ऐन नबनेको आधा शताब्दी भइसकेको बताउँदै उनले ४८ वर्षदेखि बन्न नसकेको ऐन बनाउन आफूहरु अगाडि बढिरहेका बेला एउटा प्रधानमन्त्री उपस्थित हुने-नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको यो ऐन बनाउने प्रक्रियामा विपक्षीले हलो अड्काउन नमिल्ने बताए । उनले भने, ‘संसद विपक्षीहरुले अवरोध गर्ने थलो त हो तर, कानुन बनाउने थलो पनि हो । यो स्मरण गराउन चाहन्छु ।’ सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी दलका सांसद आक्रोशित बनेका छन् । विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि वैठक स्थगित गरेका छन् ।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको हो । मंगलबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुख अर्यालले कार्यसूचीमा रहेका बिषयलाई अगाडि बढाउन लाग्दा बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए । कांग्रेस प्रमुख सचेतक थापाले सरकारले दुई तिहाइको दम्भ देखाएको बताइन् । उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास नभएको उल्लेख गरिन् ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै प्रधानमन्त्री नआए संसदको अवरोध नहट्ने बताए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले संख्याको दम्भ नराख्न सरकारलाई सुझाव समेत दिए । त्यस्तै अन्य बिपक्षी दलका सांसदहरुले पनि प्रधानमन्त्रीको उपस्थितिको लागि रुलिङको माग गरेका थिए ।
विरोधपछि बैठकमा सभामुख अर्यालले बिपक्षी दलले राखेका माग जायज भएको भन्दै आफू पनि निरन्तर छलफलमा रहेको बताए । उनले छिटै प्रधानमन्त्रीको उपस्थिति सदनमा हुने भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । विपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले विरोधकाबीच कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाएका थिए भने बिपक्षी दलका सांसदहरुले उठेर नारावाजी गरेका थिए । पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल जारी रहँदा समेत विरोध जारी रहेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री उपस्थित हुने नहुने कुराले विपक्षीले संसदमा हलो अड्काउन पाइँदैन: जगदीश खरेल
ईयूआबद्ध मुलुकका राजदूतहरूसँग प्रधानमन्त्रीले भने: विश्व बजारबाट नेपाल लाभान्वित हुन चाहन्छ
प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
लुम्बिनीमा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठ बनाइने
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’