सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ २७ गतेदेखि लागू हुने गरी आचारसंहिता लागू गरेको छ।
उक्त आचारसंहितामा ‘कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गर्नु हुँदैन,’ भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ। उक्त आचारसंहिता मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ।
आचारसंहितामा विभिन्न ८ वटा बुँदाको व्याख्या गरिएको छ।
कार्यालय समयबाहिर सामाजिक सञ्जाल प्रयोग गर्नु परेमा पनि मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्यदृश्य सामग्री राख्न तथा शेयर गर्न निषेध गरिएको छ।
आचारसंहितामा सेवाग्राहीसँग खाजा खान नपाइने नियम बनाइएको छ। आचारसंहितामा भनिएको छ, ‘जुनसुकै कामको सिलसिलामा स्थलगत भ्रमणमा जाँदा सम्बन्धित सेवाग्राही, निर्माण व्यवसायी वा स्थानीय तहका सेवा प्रदायकको सौजन्यमा होटलवास, खाजा-खाना, सवारीसाधन वा अन्य कुनै किसिमको सुविधा प्रयोग वा उपयोग गर्नु हुँदैन।’
कार्यालय समयबाहेक अन्य समयमा फेसबुक, ट्वीटर (एक्स), ह्वाट्सएप, लिंक्डइन, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक आचारसंहिताको अधीनमा रही उच्चतम सतर्कता अपनाउनुपर्नेछ,’ आचारसंहितामा भनिएको छ।
सोही विषयमा भनिएको छ, ‘सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवं अविश्वास पैदा हुने, मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्यदृश्य सामग्री राख्न एवं शेयर गर्नु हुँदैन।’
सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशित समाचारमा प्रतिक्रिया लेखी कुनै पनि निकायका पदाधिकारीबाट सम्पादन गरिएका कामकारबाहीका सम्बन्धमा व्यक्तिगत मान, सम्मान र मर्यादामा आँच पुग्ने गरी व्यंग्य वा टीकाटिप्पणी नगर्न आचारसंहितामा प्रशासकीय अधिकृतलाई सम्झाइएको छ।
आचारसंहितामा भनिएको छ, ‘पदीय हैसियतबाट गाउँपालिका तथा नगरपालिकाको नामबाट सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत पहिचान खुलाउनु हुँदैन।’
गाउँपालिका तथा नगरपालिकाको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट कार्यपालिका र मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि प्रकारको उपहार, आतिथ्यता स्वीकार गर्न तथा आफूलाई गैरकानुनी फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन हुँदैन भनी आचारसंहितामा प्रशासकीय अधिकृतलाई कडाइ गरिएको छ।
आचारसंहितामा भनिएको छ, ‘कार्यालयभित्र वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, तासजुवा खेल्ने तथा आफू कार्यरत स्थानीय तह एवं राष्ट्रसेवकको मर्यादामा आँच आउने कुनै पनि काम गर्नु हुँदैन।’
कानूनबमोजिम स्वीकृति दिने निकाय वा पदाधिकारीको स्वीकृतिबेगर विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन जाने, दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई अह्राइएको छ।
साथै, सरकारी साधनको प्रयोगमा पनि स्थानीय तहमा कार्यरत कर्मचारीलाई कडाइ गरिएको छ। आचारसंहितामा भनिएको छ, ‘कार्यालयको कामबाहेक व्यक्तिगत काममा सरकारी सवारीसाधन प्रयोग गर्नु हुँदैन। सार्वजनिक बिदाको दिनमा सरकारी कामका लागि सवारी पास लिएर मात्र सरकारी सवारीसाधनको प्रयोग गर्नुपर्नेछ।’
आचारसंहितामा भनिएको छ, ‘प्रचलित कानून तथा व्यवस्थाबमोजिम स्वीकृति दिने निकाय वा पदाधिकारीको स्वीकृतिबेगर विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन जाने, दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्नु हुँदैन।’
सामाजिक सञ्जालमा राखेर आफ्नो गुनासो सार्वजनिक नगर्न प्रमुख प्रशासकीय अधिकृतलाई भनिएको छ। आचारसंहितामा लेखिएको छ, ‘आफूलाई परेको पीरमर्का वा गुनासो आमसञ्चार माध्यम वा सामाजिक सञ्जालमा नराखी गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष वा प्रमुख र मन्त्रालयका सुपरीवेक्षक तथा सचिवसमक्ष प्रस्तुत गर्नुपर्दछ।’
बिदा तथा काज स्वीकृत गराई अध्यक्ष तथा प्रमुखलाई जानकारी गराएर मात्रै कार्यालय छोड्नुपर्नेछ भनी आचारसंहितामा उल्लेख गरिएको छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा