फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

Promoting self-reliance for beekeeping

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालनलाई प्रविधिसँग जोड्दै क्युआर कोडमार्फत मौरीका घारको अनुगमन सुरु गरेको छ । मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले अनलाइन प्रणाली प्रयोग गरेर घारको अवस्था, उत्पादन र रोगको निगरानी गर्न थालेको हो ।

भूमिसेवा नेटवर्क ‘बी.भूमि.अर्थ’ प्रणालीमार्फत सञ्चालन गरिएको यो प्रविधि स्याङ्जाकै आँधीखोला गाउँपालिकाका मदन पौडेलले विकास गरेका हुन् । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएका मौरीका घारमा क्युआर कोड जडान गरेर यसको प्रयोग सुरु गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार कृषकले पठाउने तस्बिर र अनुगमनका क्रममा स्क्यान गरिने क्युआर कोडमार्फत घारको अवस्थादेखि रोगको जोखिम, उत्पादनको स्थिति तथा गोला फुटाउने समयसम्मको जानकारी प्राप्त गर्न सकिन्छ ।

‘मौरीपालनलाई आधुनिक र व्यवस्थित बनाउँदै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो प्रणाली लागू गरेका हौं,’ उनले भने ।

गाउँपालिकाले हालसम्म ७० प्रतिशत अनुदानमा एक हजार मौरीका घार वितरण गरिसकेको छ । त्यसबाहेक कृषकले आफ्नै लगानीमा दुई हजारभन्दा बढी घार सञ्चालन गरिरहेका छन् ।

एक वर्षअघि २४ जना कृषकलाई प्रतिव्यक्ति २५ घारका दरले मौरी वितरण गरेर फेदीखोला सेरेना मौरी समूह गठन गरिएको थियो । अहिले चार वटा समूहमार्फत १२० जना कृषक व्यावसायिक मौरीपालनमा आबद्ध छन् । गाउँपालिकाका अनुसार अनुकूल हावापानी, प्रशस्त चरन क्षेत्र र वनस्पतिको उपलब्धताले मौरीपालन विस्तारमा सहयोग पुगेको छ ।

अध्यक्ष सुवेदीले आगामी दिनमा ‘एक किसान, कम्तीमा एक घार मौरी’ भन्ने अवधारणालाई अघि बढाउने तयारी भइरहेको बताए । उनका अनुसार मौरीपालनलाई ग्रामीण रोजगारी, उद्यमशीलता र आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

गाउँपालिकाले विद्यालयस्तरमै मौरीपालनबारे जानकारी गराउन ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रममार्फत नौ विद्यालयमा यससम्बन्धी गतिविधि सञ्चालन गरेको छ । साथै सहकारीमार्फत मौरीसहितको घार उद्योग स्थापना, महको बजारीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, कोसेली घर सञ्चालन तथा चरन क्षेत्र विकासका कार्यक्रम पनि अघि बढाइएको छ ।

स्थानीय मौरीपालक तथा होमस्टे सञ्चालक खरीकुमारी गुरुङले ४० घार मौरीबाट एक वर्षमै ४० वटा नयाँ घार बिक्री गर्नुका साथै करिब २०० किलो मह र महका चाका बिक्री गरेर झन्डै आठ लाख रुपैयाँ आम्दानी गरेको बताइन् ।

मौरीपालक कृषक समूहका अध्यक्ष उजिरबहादुर केसीले फेदीखोलामा मेहनत गर्ने मौरीपालक कृषक खाली हात नफर्किएको बताए । उनका अनुसार गाउँपालिकाभित्र धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै अहिले मौरीपालन बनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ