कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने

सहजता

कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने

krishna bhir

काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाएर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ।

पहिरोले पूर्ण रूपमा ठप्प बनेको उक्त सडकमा यही भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा साना तथा अत्यावश्यक सवारी साधन चल्न थालिसकेका छन्। अब आगामी असोज १ गते बिहीबारदेखि भने नियमित रूपमा दुईतर्फी नै यातायात सञ्चालन गरिनेछ।

बाढी र पहिरोले सडकको सुरक्षा पर्खाल नै भत्काएपछि अवरुद्ध बनेको कृष्णभीरमा पहाड खनेर नयाँ बाटो निकालिएको हो। भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा पहिलोपटक क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल पूरै भत्काइदिएपछि राजमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो।

सडक ठप्प भएलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गराएको थियो। विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए।

प्राविधिक तथा विज्ञहरूबाट प्राप्त सोही सुझावका आधारमा भदौ १९ गतेदेखि सो क्षेत्रमा रुख कटान सुरु गरिएको थियो। त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो।

नयाँ ट्रयाक तयार पार्न प्राविधिकसहित ५० जनाको टोली निरन्तर खटिएको थियो। उनीहरूले दैनिक १२ देखि १६ घण्टासम्म लगातार काम गरेर १०औँ दिनमा ट्रयाक खोल्ने काम पूरा गरेका हुन्।

काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन गराइएको थियो। त्यसयता सो खण्डमा बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ।

हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम तीव्र रूपमा भइरहेको छ। भोलिसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहीबार बिहानैदेखि दुईतर्फी यातायात सुचारु गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफैँ कार्यक्षेत्रमा निरन्तर खटिरहेका छन्।

यसअघि रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापनबारे भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले कृष्णभीरको अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। प्रधानमन्त्रीको सोही प्रतिबद्धता र घोषणाअनुसार तोकिएकै समयभित्र ट्रयाक खोलेर यातायात सञ्चालनमा ल्याइएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ