४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

kamala-who-became-the-mother-of-44-helpless-children

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा बिहानदेखि बेलुकासम्म एउटी महिलाको दिनचर्या निकै व्यस्त हुन्छ । कसैलाई विद्यालय पठाउने हतारो हुन्छ, कसैको स्वास्थ्यको ख्याल गर्नुपर्छ, कसैको गृहकार्य हेर्नुपर्छ त कसैलाई सम्झाइबुझाइ गर्नुपर्छ । उनी हुन्– अमोर बालगृहकी व्यवस्थापक कमला पराजुली ।

आफ्नै कोखबाट ४४ सन्तान नजन्मिए पनि आज उनी त्यत्तिकै बालबालिकाकी आमा बनेकी छन् । विभिन्न कारणले परिवारबाट टाढिएका, सहाराविहीन बनेका र सडकसम्म पुग्न बाध्य भएका बालबालिकालाई उनले आमाको माया, संरक्षण र भरोसा दिँदै आएकी छन् ।

पश्चिम नेपालको रैथाने देउडा भाका अचेल फेदीखोलामा पनि घन्किन्छ । देशका फरक–फरक भूगोल र संस्कृतिबाट आएका बालबालिका एउटै परिवारजस्तै बनेका छन् । कसैको भाषा फरक छ, कसैको संस्कृति फरक छ, तर अमोर बालगृहले उनीहरूलाई एउटै घर र एउटै परिवारको सम्बन्धमा बाँधेको छ ।

वि.सं. २०६८ सालमा स्थापना भएको अमोर बालगृह २०७२ सालदेखि सञ्चालनमा आएको हो । स्याङ्जामात्र होइन, पर्वत, पाल्पा, कास्की, दाङ, रुकुम र मुगुसम्मका अनाथ तथा असहाय बालबालिकाले यहाँ आश्रय पाउँदै आएका छन् ।

५० जना बालबालिका राख्ने क्षमता रहेको बालगृहमा अहिले ४४ जना बालबालिका छन् । विभिन्न पारिवारिक समस्या, गरिबी र सामाजिक परिस्थितिका कारण सडकमा पुग्न बाध्य भएका बालबालिकाले यहाँ सुरक्षित बसोबास, खानपान र शिक्षाको अवसर पाएका छन् ।

तर, बालगृहको व्यवस्थापन केवल खाना र बस्ने व्यवस्था मिलाउनुमा सीमित छैन । प्रत्येक बालबालिकाको बानी, स्वभाव, स्वास्थ्य, शिक्षा र भावनासँग परिचित रहेर उनीहरूको हेरचाह गर्नु कमला पराजुलीको दैनिक जिम्मेवारी बनेको छ ।कुनै बालबालिका बिरामी पर्दा अभिभावक बन्ने, कसैलाई पढाइमा हौसला दिने र कसैलाई पारिवारिक माया र साथको अनुभूति गराउने जिम्मेवारी उनले सम्हाल्दै आएकी छन् । त्यसैले बालगृहका बालबालिकाका लागि उनी व्यवस्थापकभन्दा बढी ‘आमा’ जस्तै बनेकी छन् ।

देशका विभिन्न स्थानमा गरिबी, पारिवारिक विखण्डन र अन्य सामाजिक समस्याका कारण अझै पनि धेरै बालबालिका सहाराविहीन बन्ने गरेका छन् । कतिपय बालबालिका सडकमा पुग्छन् भने कतिपय उचित संरक्षण नपाएर असुरक्षित वातावरणमा हुर्किन बाध्य छन् ।

यस्तो अवस्थामा अमोर बालगृहजस्ता संस्थाले केवल आश्रय मात्र दिएका छैनन्, बालबालिकालाई नयाँ जीवनको बाटो पनि देखाएका छन् । यहाँ आएका बालबालिकाले पढ्ने, खेल्ने, गीत गाउने र आफ्नै परिवारमा हुर्किएजस्तै वातावरण पाएका छन् ।

कमला पराजुलीका लागि पनि यो काम सामान्य जिम्मेवारी मात्र होइन । ४४ जना बालबालिकाको भविष्यसँग जोडिएको दायित्व हो । उनीहरूको मुस्कानमा आफ्नो खुसी र उनीहरूको भविष्यमा आफ्नो सपना देख्ने पराजुलीले बालबालिकालाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ काम गरिरहेकी छन् ।

बालगृहमा रहेका बालबालिकाको जीवनमा परिवर्तन ल्याउनु नै आफ्नो मुख्य उद्देश्य रहेकोअमोर बालगृहकी व्यवस्थापक कमला पराजुलीको भनाइ छ । परिवारबाट टाढिएका र विभिन्न कारणले सहाराविहीन बनेका बालबालिकालाई सुरक्षित वातावरण दिनुका साथै उनीहरूको भविष्य निर्माणमा आफूहरू लागिरहेको उनले बताइन् ।

स्याङ्जालाई सडक बालबालिकामुक्त बनाउने अभियान पनि यस्तै प्रयासबाट सार्थक बन्दै गएको छ । तर, निजी तथा सामाजिक पहलबाट मात्र बालबालिकाको दीर्घकालीन संरक्षण सम्भव नहुने भएकाले यस्ता बालगृहलाई राज्यले स्पष्ट नीति र आवश्यक आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अमोर बालगृहको आँगनमा फरक जिल्लाबाट आएका ४४ बालबालिका अहिले एउटै परिवार बनेका छन् । र, त्यो परिवारको केन्द्रमा छिन्– आफ्नै सन्तानजस्तै उनीहरूको भविष्य सम्हालिरहेकी कमला पराजुली ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

भर्खरै

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

ट्रेन्डिङ