पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो । स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए । स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो । छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेका थिए ।
त्यसपछि तीव्र आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो । श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो ।
सडकको भेलले नाली हुँदै उनीहरूलाई करिब डेढ किलोमिटर बगाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले बताए।
‘सडकबाट ढकन लगाएको नाली हुँदै आमाछोरी करिब डेढ किलोमिटर बग्नुभएको रहेछ,’ उनले भने, ‘हामीले नालीबाट उद्धार गरेर अस्पताल पुर्यायौँ।’
सडकबाट आएको भेलसँगै सुष्मा र रानिका ढकन खुला भएको नालीमा छिरेका थिए। त्यसपछि ढकन बन्द भएको नाली हुँदै उनीहरू करिब डेढ किलोमिटर बगेको डिएसपी बोगटीले बताए।
‘हामीले खबर पाउनेबित्तिकै उद्धार टोली खटाएर उद्धार गरेका थियौँ,’ उनले भने, ‘सडकको नालीमा सबै ठाउँमा ढकन भएको भए यसरी ज्यान जाने थिएन होला।’
पोखरामा अविरल वर्षा हुँदा सडकमै खोला बग्छ। व्यवस्थित र आकाशे पानी थाम्ने गरी नालीको व्यवस्थापन नहुनु तथा भएका नालीसमेत मर्मतसम्भार नहुँदा यस्ता घटना वर्षेनी दोहोरिइरहेका छन्।
२०७९ भदौमा पनि यसरी नै ढकन खुला भएको नालीमा परेर सडकमा हिँडिरहेका बालकको ज्यान गएको थियो।
पोखरा–१६ स्थित दीपको ओरालोमा ११ वर्षीय रविन तिवारी चिप्लिएका थिए। वर्षाको भेलले नालीको ढकन देखिएको थिएन। उनले टेकेको ठाउँमा नालीको ढकन रहेनछ। आमाको हात समातेर हिँडिरहेका रविन चिप्लिएर नालीभित्र पुगेका थिए।
करिब १० मिटर टाढा बगेपछि उनी अड्किए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनलाई दुई घण्टापछि झाडीमा मृत फेला पारेको थियो।
पोखराका नालीले २०७४ असोजमा लामाचौरका ५६ वर्षीय कृष्णबहादुर थापाको पनि ज्यान लिएको थियो। नालीमा डुबेर उनको मृत्यु भएको थियो।
सोही वर्ष कात्तिकमा पोखरा–१९ का पिजन पुन मोटरसाइकलसहित नालीमा खसेका थिए। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पसनजिकै नालीमा खसेर बेपत्ता भएका पिजनको शव पछि फेला परेको थियो।
पोखरामा ढल तथा बाढी व्यवस्थापन हुन नसक्दा यसरी मानिसको ज्यान गइरहेको छ। तर सरकारले अहिलेसम्म पोखराको ढल र बाढी व्यवस्थापनका लागि कुनै ठोस योजना ल्याउन सकेको छैन।














सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो