महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक

राजनीति

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक

गगन भन्छन् – १५ औँ महाधिवेशन सार्न सक्दैनौँ

ramesh lekhak

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजनको दिशामा जाने चेतावनी दिएका छन्।

पार्टी सभापति गगन थापालाई नै निरन्तरता दिन आफूहरू तयार रहेको भए पनि महाधिवेशन जबरजस्ती अघि बढाउन खोजिए पार्टी फुट्ने उनको जिकिर छ।

कञ्चनपुरको दोधारा-चाँदनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले पार्टी एकता जोगाउन आफूहरूले अधिकतम लचकता अपनाइरहेको दाबी गरे।

उनले भने, ‘अहिले पनि उपाय बाँकी छ। आ-आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।’

पार्टी एकताका लागि आफूहरूले विगत ११ महिनादेखि निरन्तर संवाद र प्रयास गरिरहेको भन्दै लेखकले सभापति फेर्ने पक्षमा आफूहरू नरहेको सुनाए।

‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने, ‘उहाँलाई हटाउने हाम्रो माग होइन, तर समझदारीका लागि तयार हुनुपर्छ।’

विवाद समाधानका लागि नेता लेखकले विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट बनेका कार्यसमितिलाई एकै ठाउँमा ल्याउनुपर्ने विकल्प प्रस्तुत गरे।

चौधौं महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा अनिवार्य रूपमा समेट्नुपर्ने उनको अडान छ।

त्यस्तै, पार्टीका महत्त्वपूर्ण समितिहरूमा सभापति थापालाई नै बहुमत दिन सकिने लचिलो प्रस्तावसमेत उनले अघि सारे। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले नै संयोजक तोक्न र आफ्नो पक्षको बहुमत राख्न सक्ने उल्लेख गर्दै लेखकले ती समितिहरूमा अन्य समूहबाट कम्तीमा ए-एक जना प्रतिनिधि भने अनिवार्य राखिनुपर्ने धारणा राखे।

गगन भन्छन् – १५ औँ महाधिवेशन सार्न सक्दैनौँ

तर, सभापति गगन थापाले १५ औँ महाधिवेशन सार्न सक्ने वैधानिक सुविधा नभएको बताएका छन् । कार्यसम्पादन समितिको बैठकमा थापाले तलमाथि नगरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

‘अधिवेशनको वैधानिक बाध्यता हामीलाई छ । १५ औँ महाधिवेशन असोज १६, १७, १८ काठमाडौंमा हुन्छ,’ थापाले भने, ‘मिति तलमाथि गर्ने वैधानिक सुविधा हामीसँग छैन ।’

तर बाढीका कारण रसुवा, धादिङ र नुवाकोटमा वडा अधिवेशन गर्न कठिन रहेको उनले बताए ।

आजै कांग्रेसको देउवा समूहका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका थिए । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds