ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह

मौसम

ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

Raining

भोलि असोज ८ गते विहीबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्नेछ भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारीदेखि एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभावले पर्सिबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा पहिरोको जोखिम रहनुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ । ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । मनसुनी प्रणालीको प्रभावले देशको हिमाली भूभागमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ