पोखरा — पोखरा महानगरपालिका–२८ माझठानाबाट शुक्रबार बिहान विद्यार्थी बोकेर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महानगरपालिकाले समिति गठन गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरेको जानकारी दिए ।
शुक्रबार बिहान पोखरा–२८ को ओख्लेमा भएको दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा विद्यार्थी, चालक तथा स्थानीयसहित २२ जना सवार रहेको महानगर प्रमुख आचार्यले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ ।
महानगरले गठन गरेको समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी छन् । समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् ।
समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । दुर्घटनाको वस्तुस्थिति पहिचान गर्नुका साथै विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र यस्ता दुर्घटना रोक्न अपनाउनुपर्ने उपायबारे सुझाव दिन पनि समितिलाई जिम्मेवारी दिइएको छ ।
महानगर प्रमुख आचार्यले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको पालना र प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्दै आचार्यले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
बेगनास तालमा डुबेर युवकको मृत्यु
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी