१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने

राजनीति

१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने

'हाम्रो भुइँमा खुट्टा छैन । हामी तलदेखि माथिसम्म मातिएका छौँ । मान्छेलाई मान्छे गनेका छैनौँ ।'

rabi lamichhane

चितवन । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आज चितवनमा गरेको सम्बोधनले पार्टीपंक्तिलाई तरंगित बनाएको छ ।

रास्वपाकै संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले सभापतिले ‘सिधाकुरा’ शैलीमा बोलेको भनेर फेसबुकमा लेखेका छन् ।

लामिछाने पार्टीभित्र झांगिएको विकृति र पदलोलुपताप्रति निर्मम सुनिए । पार्टी नेतृत्वको सरकारप्रति सिधा टिप्पणी नगरे पनि घुमाउरोरुपमा सचेत गराए । लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा दृढता व्यक्त गरे ।

प्रतिनिधिसभा निर्वाचनपछि कार्यकर्ता भेटघाट, बाढी प्रभावित क्षेत्रको अनुगमन र स्थानीय व्यवसायीहरूसँगको अन्तरक्रियाका लागि लामिछाने चितवन आएका हुन् ।

उनले चितवन ओर्लिनेबित्तिकै बिहीबार पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि पोखेका थिए ।

सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई अकस्मात् जिम्मेवारीबाट हटाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनले बताएका थिए ।

हालै राज्यसत्ताको आडमा सञ्चार गृहभित्रै प्रहरी पसेर पत्रकारहरूलाई गिरफ्तार गरिएको घटनाप्रति उनले कडा शब्दमा विरोध जनाएका छन् ।

लामिछानेले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको यो ठाडो हस्तक्षेप भएको बताए । आफ्नो दल लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा दृढतापूर्वक उभिँदै उनले सरकार सञ्चालनमा देखिएको यो अपरिपक्वता स्वीकार गरे र नेतृत्वलाई परिपक्व बन्न सचेत समेत गराएका थिए ।

सभापति लामिछानेले चितवनबाट सरकारको व्यवहारप्रति प्रश्न उठाएको केही समयपछि प्रधानमन्त्री बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एउटा अर्थपूर्ण स्टाटस सार्वजनिक गरेका थिए ।

उनले लेखेका थिए– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।

सामाजिक सञ्जालमा र राजनीतिक वृत्तमा कतिपयले यसलाई लामिछानेप्रति लक्षित समेत मानेका छन् ।

शुक्रवार चितवनमा आफ्ना कार्यकर्तामाझ सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीका नेता–कार्यकर्ताको व्यवहार तथा कार्यशैलीमाथि तीव्र असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘१८२ सिट छ भन्दैमा हाम्रो भुइँमा खुट्टा छैन । हामी तलदेखि माथिसम्म मातिएका छौँ । मान्छेलाई मान्छे गनेका छैनौँ ।’

जनमतले ठूलो पार्टी बनाउँदैमा वा हातमा पुलिस र प्रशासन छ भन्दैमा दम्भ देखाउने छुट कसैलाई नभएको लामिछानेले बताए ।

समाजले सत्य कुरा ऐना देखाउँदा त्यही समाज र मिडियामाथि जाइलाग्ने प्रवृत्ति राजनीतिक चरित्र हुन नसक्ने तर्कसमेत गरे । सरकारको आडमा मन्त्री र माननीय बनेका केही नेताहरूले जमिनको यथार्थ बिर्सिएको गुनासो गरे ।

‘हेर्दाहेर्दै माननीय भएका साथीहरूले तलका मान्छेलाई देख्दै नदेखेको जस्तो गरेर हिँडिरहनुभएको छ,’ उनले भने, ‘जनताले दिएको यो ऐतिहासिक अभिमत जनताकै हुर्मत लिनका लागि उपयोग नगर्नुहोला, जनताले सबै नियालिरहेका छन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ