‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की

रिट दायर

‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की

यस्तो छ दानबहादुर कार्कीको रिटको पूर्णपाठ

igp-dan-bahadur-karki

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयलाई चुनौती दिँदै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । पदावधि बाँकी रहँदै आफूलाई प्रहरी संगठनको नेतृत्वबाट अलग गरी अर्को जिम्मेवारीमा खटाउने सरकारको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै उनले त्यसलाई बदर गर्न माग गरेका छन् ।

कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उनले मन्त्रिपरिषद्को निर्णय तथा त्यसका आधारमा भएका सम्पूर्ण कामकारबाही बदर गरी आफूलाई बाँकी कार्यकाल प्रहरी महानिरीक्षककै जिम्मेवारीमा काम गर्न दिन परमादेश जारी गर्न माग गरेका छन् ।

सरकारले २०८३ कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिने प्रयोजनका लागि प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको थियो । उक्त पदमा बहालवाला आईजीपी कार्कीलाई खटाउने र त्यसबाट रिक्त हुने आईजीपी पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारको यही निर्णयलाई बदर गर्न र आफूलाई पुर्नबहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनका अनुसार नयाँ पद सिर्जना गरेर आफूलाई त्यहाँ खटाउनुको वास्तविक उद्देश्य प्रहरी महानिरीक्षक पदबाट हटाउनु र नयाँ नेतृत्व ल्याउनु हो । सरकारले आफूलाई हटाउन कुनै कार्यसम्पादन कमजोरी, आचरणसम्बन्धी समस्या वा अयोग्यताको आधारसमेत प्रस्तुत नगरेको उनले रिटमा उल्लेख गरेका छन् ।

पदावधि बाँकी छँदै हटाइएको जिकिर

कार्कीले प्रहरी नियमावली, २०७१ को नियम १२७ अनुसार प्रहरी महानिरीक्षकको पदावधि चार वर्ष हुने व्यवस्था रहेको उल्लेख गरेका छन् । उनले २०८२ कात्तिक २७ देखि आईजीपीको जिम्मेवारी सम्हालेका थिए । ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश पाउन अझै करिब १८ महिना बाँकी रहेको उनको दाबी छ ।

पदावधि बाँकी रहँदै आफूलाई अर्को जिम्मेवारीमा खटाउने निर्णय गर्दा कुनै कानुनी आधार र प्रक्रिया पूरा नगरिएको कार्कीको जिकिर छ । उनलाई विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्नुअघि कुनै सूचना नदिइएको, स्पष्टीकरण नसोधिएको, आफ्नो कुरा राख्ने अवसर नदिइएको र सहमतिसमेत नलिइएको रिटमा उल्लेख छ ।

उनले बहालवाला आईजीपीलाई प्रहरी संगठनबाहिर अर्को पदमा खटाएर त्यसैलाई आधार मानी आईजीपी पद रिक्त भएको घोषणा गर्न नमिल्ने तर्क गरेका छन् । कुनै पदाधिकारीलाई अर्को जिम्मेवारीमा खटाउँदैमा उसको मूल पद स्वतः रिक्त नहुने भन्दै सरकारको निर्णय कानुनी व्यवस्थाविपरीत रहेको उनको दाबी छ ।

सरकारकै निर्णयमा विरोधाभास रहेको दाबी

कार्कीले सरकारको निर्णय र गृह मन्त्रालयबाट जारी पत्राचारबीच विरोधाभास रहेको विषयलाई पनि रिटमा उठाएका छन् । विशेष सुरक्षा सल्लाहकारका रूपमा आफ्नो पारिश्रमिक र सेवाका सर्त प्रहरी महानिरीक्षकसरह हुने उल्लेख गरिएको विषयलाई उनले सरकारको निर्णयमाथि प्रश्न उठाउने आधार बनाएका छन् ।

उनको तर्कमा एकातिर प्रहरी महानिरीक्षकसरहको सुविधा र सेवाका सर्त दिने भनिएको छ भने अर्कोतिर आफूलाई आईजीपी पदबाट अलग गरेर उक्त पद रिक्त भएको मानिएको छ । सरकारले विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरेको भए पनि बहालवाला आईजीपीलाई प्रहरी संगठनबाहिर अर्को जिम्मेवारीमा खटाउने र त्यसबाट मूल पद रिक्त हुने कानुनी व्यवस्था देखाउन नसकेको उनको जिकिर छ ।

कार्कीले सरकारको निर्णयलाई अधिकारक्षेत्रविहीन, कानुनी आधारविहीन र बदनियतपूर्ण भएको दाबी गर्दै संविधानको धारा ४६ तथा धारा १३३ (२) र (३) बमोजिम सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न माग गरेका छन् । उनले उत्प्रेषण, अधिकारपृच्छा, परमादेश र प्रतिषेधलगायतका आदेश जारी गर्न माग गरेका छन् ।

अदालतका पुराना नजिरसमेत प्रस्तुत

कार्कीले आफ्नो रिटमा सर्वोच्च अदालतका यसअघिका दुई फैसलालाई समेत नजिरका रूपमा प्रस्तुत गरेका छन् । हितेन्द्रदेव शाक्यविरुद्ध नेपाल सरकारसम्बन्धी मुद्दामा अर्को पदमा नियुक्तिको नाममा परोक्ष रूपमा पदमुक्त गर्न नमिल्ने सिद्धान्त स्थापित भएको उनको दाबी छ ।

त्यस्तै, अच्युतकृष्ण खरेलविरुद्ध मन्त्रिपरिषद् सचिवालयसम्बन्धी मुद्दालाई पनि उनले आधार बनाएका छन् । उक्त मुद्दामा बहालवाला आईजीपीलाई अर्को पदमा नियुक्त गर्ने नाममा हटाउने निर्णयको वैधानिकता र त्यसमा हुन सक्ने बदनियतबारे व्याख्या गरिएको उनको जिकिर छ ।

कार्कीले सरकारको निर्णयबाट आफ्नो पदावधि, पेसागत अधिकार र कानुनी संरक्षणमाथि प्रत्यक्ष असर परेको भन्दै मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय, त्यससँग सम्बन्धित पत्राचार तथा त्यसका आधारमा भएका सबै कामकारबाही बदर गर्न माग गरेका छन् । साथै आफ्नो बाँकी पदावधिभर प्रहरी महानिरीक्षककै जिम्मेवारीमा काम गर्न दिन सरकारका नाममा परमादेश जारी गर्न माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ