आफ्नै नवनिर्मित भवनबाट सेवा

आफ्नै नवनिर्मित भवनबाट सेवा

Pubana-11 ward bhawan-pic

लामो समय भाडाको भवनबाट सेवा दिँदै आएको स्याङ्जाको पुतलीबजार नगरपालिका–११ ले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । नगरपालिकाले करेन्डाँडामा वडा कार्यालयको भवन निर्माण गरेपछि कार्यालय नयाँ भवनमा सरेको हो ।

नगरपालिकाले ७६ लाख १८ हजार ६६ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण गरेको भवन एक हजार १७२ वर्गफिट क्षेत्रफलको छ । भवनको पहिलो तलामा कृषि, पशु तथा स्वास्थ्य कार्यालय, वडा प्रशासन र बैठक कक्ष राखिएका छन् । दोस्रो तलामा जनप्रतिनिधिका लागि कार्यकक्ष, वडाध्यक्षको कार्यकक्ष र सभाहल छन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार हाम्रो इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले २०७९ असार १ गते नगरपालिकासँग सम्झौता गरी भवन निर्माण गरेको हो । भवन निर्माण भएपछि नागरिकलाई सेवा लिन सहज भएको बताउँदै उनले वडाका सबै सेवा अब यही भवनबाट प्रवाह गरिने जानकारी दिए ।

वडाध्यक्ष मनोज पौडेलले आफ्नै भवनबाट सेवा सुरु भएपछि वडा कार्यालयका कामकारबाही सञ्चालन गर्न सहज भएको बताएका छन् । नयाँ भवनले नागरिकलाई एउटै स्थानबाट विभिन्न सेवा लिन सुविधा पुग्ने र वडाको प्रशासनिक कामलाई व्यवस्थित बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

१४ वडा रहेको पुतलीबजार नगरपालिकाका केही वडा कार्यालय अझै आफ्नै भवनमा छैनन् । वडा नम्बर २ को कार्यालय विद्यालयमा, वडा नम्बर ३ को सेतो गुराँस भवनमा र वडा नम्बर ५ को कार्यालय स्वास्थ्य चौकीमा सञ्चालन हुँदै आएका छन् । वडा नम्बर ४ र १३ का कार्यालय भवन निर्माण भने अन्तिम चरणमा पुगेका छन् ।

नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले निर्वाचित भएपछि भाषणभन्दा कामलाई प्राथमिकता दिएको बताए । नागरिकले दिएको अमूल्य मतको कदर गर्दै सुशासन र पारदर्शितालाई जोड दिएको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ