कालापानी-लिपुलेकबारे बालेनको मौनता, नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि ‘बार्गेनिङ पावर’ कमजोर

राजनीति

कालापानी-लिपुलेकबारे बालेनको मौनता, नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि ‘बार्गेनिङ पावर’ कमजोर

द्विपक्षीय वार्तामा लिपुलेकको उच्चारणै नभएको भारतीय विदेश सचिवको दाबी

balen-mod-i

प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले लिपुलेकको विषयमा सार्वजनिक रूपमा कडा धारणा राख्थे । काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्दा उनले सामाजिक सञ्जालमार्फत लिपुलेक नेपालको भूमि भएको विषय चीनसमक्ष उठाउन आग्रह गरेका थिए ।

भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिलाई नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई चीनसँग नेपालको दाबी स्पष्ट रूपमा राख्न आग्रह गरेका थिए । तर, अहिले प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमण गर्दा उनले लिपुलेकको विषय मोदीसँगको वार्तामा प्रवेश नै गराउन सकेनन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै संसदमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपश्चात भारतसामु उनको ‘बार्गेनिङ पावर’ कमजोर बनेको एक परराष्ट्रविज्ञ बताउँछन् ।

‘उहाँले दह्रोसित सीमा समस्याको मुद्दा उठाउन नसक्नुमा आफ्नो त्यही अभिव्यक्ति गलपासो बनेको हुन सक्छ,’ उनले भने ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच लामो समयदेखि विवादित रहँदै आएको सीमा समस्याबारे गम्भीर छलफल भएन । नेपालको सार्वभौमिकतासँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादबारे कुरै नउठेको भारतीय पक्षको दाबी छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा ‘सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम गर्न निर्देशन दिइएको’ उल्लेख छ ।

राजनीतिक नेतृत्वबीच उच्चस्तरीय समझदारीबिना कर्मचारीलाई जिम्मा दिने कुरा केवल झाराटराइ मात्र हो । यसअघि सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने सहमति भए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन ।

त्‍यसमाथि विज्ञप्तिमा दुई देशबीच सीमा विवादका रूपमा रहेका क्षेत्रको नामसमेत किटान गरिएको छैन । नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेका कालापानी, लिपुलेक र लिम्पियाधुराबारे विज्ञप्तिमा उल्लेख छैन भने सुस्तालगायतका विवादित क्षेत्रको विषयमा मौनता साँधिएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा लिपुलेकको विषय नउठेको बताएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो लिपुलेक हुँदै भारत–चीनबीच भइरहेको व्यापारको विषय नउठेको बताएका हुन् ।

भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले नेपालको आपत्तिका बाबजुद भारत र चीनले लिपुलेक नाकाबाट व्यापार अघि बढाउने विषयमा प्रधानमन्त्रीस्तरीय वार्तामा छलफल भयो कि भएन भनेर सोधेको प्रश्नमा मिस्रीले भने, ‘आज लिपुलेकको विषय उठेन र यसबारे दुई पक्षबीच कुनै छलफल भएन ।’

उनले लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक नाकाका रूपमा व्याख्या गर्दै लामो समयदेखि दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको बताएका थिए ।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद लामो समयदेखि कायम छ । सन् २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा यी क्षेत्र आफ्नो भूभागमा समेटेपछि विवाद थप चर्किएको थियो । त्यसपछि नेपालले कूटनीतिक विरोध जनाउँदै २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

नेपालले यी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले आफ्नो उत्तराखण्ड राज्यको भूभाग भएको दाबी गर्दै आएको छ ।

एमाले प्रचार प्रमुख आचार्यको टिप्पणी–भारत भ्रमणमा नेपालको दीर्घकालीन हितका विषय नै उठाइएन

कपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपालका दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका विषय उठान नै नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सीमा समस्या समाधान, ईपीजी प्रतिवेदन बुझ्ने तथा तेस्रो मुलुकसँग निर्बाध विद्युत् व्यापारका अवरोध हटाउने विषयमा छलफलसम्म भएन ।’

उनले भनेका छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणक्रममा नयाँ राजनीतिक नेतृत्व, बदलिएको जनअपेक्षा र नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको थियो ।’ उनले भ्रमणमा काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई द्विदिशात्मक बनाउने सहमति सकारात्मक उपलब्धि भएको बताएका छन् ।

आचार्यले भ्रमणका क्रममा विगतमा सहमति भएका परियोजनालाई निरन्तरता दिने र निर्माण सम्पन्न आयोजनाको उद्घाटन गर्ने विषयले मात्रै प्राथमिकता पाएको बताए ।

दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा सकारात्मक भए पनि यसमध्ये ५६ अर्ब रुपैयाँ मात्र अनुदान हुने र बाँकी एक खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा परियोजनाका लागि ऋण सुविधा भएको आचार्यले उल्लेख गरेका छन् ।

‘भ्रमणको सफलता राष्ट्रिय हितका जटिल मुद्दामा कति प्रगति भयो र भविष्यका लागि कति ठोस आधार निर्माण गरियो भन्ने कुराले निर्धारण गर्छ,’ उनले भनेका छन्, ‘समग्रमा, सार्वजनिक भएका सहमति र तत्काल देखिएका उपलब्धिका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण औसत रह्यो। नयाँ नेतृत्वबाट नयाँ सोच, स्पष्ट कूटनीतिक दृष्टिकोण र राष्ट्रिय स्वार्थका मुद्दामा दृढ प्रस्तुतिको अपेक्षा थियो।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ