प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको मोबाइलबाट डिजिटल प्रमाण मेटाइएको र अनुसन्धान प्रभावित पारिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका कर्मचारीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।
सुर्खेतका वलीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका छन्। यसअघि सोमबार जाहेरी दिन प्रहरी परिसर पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकबाट पठाएका हुन्।
जाहेरीमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बेन, प्रधानमन्त्री सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको संलग्नताबारे अनुसन्धान गर्न माग गरिएको छ।
वलीले प्रहरी हिरासतमा रहेका झापाका इनम सापकोटाको मोबाइलमा रहेका अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाण अनधिकृत रूपमा मेटाइएको, परिवर्तन गरिएको वा लुकाइएको आरोप लगाएका छन्। सापकोटामाथि सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
जाहेरीसँगै पेस गरिएको फरेन्सिक ल्याबको परीक्षण रिपोर्टका विवरण उद्धृत गर्दै वलीले सापकोटाको मोबाइल असोज १५ गते दिउँसो ४ बजेर ३० मिनेट ४५ सेकेन्डमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्याइएको दाबी गरेका छन्।
सोही दिन साँझ ५ बजेर १० मिनेट १८ सेकेन्डमा सिंहदरबारको दक्षिण गेटबाट बाहिर निकालिएको र ५ बजेर २५ मिनेट ५ सेकेन्डमा ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बेनको घरमा पुर्याइएको दाबी पनि जाहेरीमा गरिएको छ।
प्रधानमन्त्री सचिवालयका विशाल अधिकारी प्रहरीको सोधपुछ कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे कुराकानी गरेको भिडियो सार्वजनिक भएको विषयलाई समेत जाहेरीमा समेटिएको छ।
वलीले अनुसन्धानका क्रममा रहेका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्याउने, प्रमाण मेटाउने, लुकाउने वा परिवर्तन गर्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गर्न माग गरेका छन्। त्यस्ता गतिविधिले वास्तविक कसुरदारलाई उन्मुक्ति दिलाउने र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने उनको दाबी छ।
कसुरसँग सम्बन्धित प्रमाण दबाउने, नष्ट गर्ने वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने बनाउने कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ अनुसार दण्डनीय हुने उल्लेख गर्दै वलीले सोही कानुनी व्यवस्थाबमोजिम कारबाही गर्न माग गरेका छन्। जाहेरीसँगै मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टका स्क्रिनसट, प्रमाण मेटाइएको विवरण तथा सचिवालयका कर्मचारी प्रहरी कार्यालय पुगेका तस्बिर र भिडियोसमेत पेस गरिएको छ।
यता, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले प्रहरीले प्राप्त गर्ने सबै जाहेरी दर्ता गर्नुपर्ने कानुनी बाध्यता नरहेको बताएका छन्। कानुनसम्मत नदेखिएका जाहेरी दर्ता नहुन सक्ने उनको भनाइ छ।‘प्रहरीकोमा आउने सबै जाहेरी दरखास्त दर्ता हुँदैनन्। कानुनसम्मत देखिएन भने प्रहरीले दर्ता हुँदैन भन्छ। त्यसमा चित्त नबुझे सरकारी वकिल कार्यालय जाने अरू उपाय पनि छन्,’ थापाले भने।
उनका अनुसार जाहेरी दर्ता नभएमा सरकारी वकिल कार्यालयमा जान सकिने र सरकारी वकिल कार्यालयले आवश्यक ठाने प्रहरीलाई जाहेरी दर्ता गर्न निर्देशन दिन सक्ने व्यवस्था छ।
सम्बन्धित खबर
सरकारलाई गगनको चुनौती- मलाई पक्राउ गर्न खाली हात नआउनू, हतकडी लिएर आउनू
बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
कालापानी-लिपुलेकबारे बालेनको मौनता, नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि ‘बार्गेनिङ पावर’ कमजोर
बालेन भारत जाँदा तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा
राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयोः ओली
यो पनि पढौँ
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य