पोखरा । २०२० सालदेखि आरोहणमा रोक लगाइएको (६९९३) मिटर उचाईको माछापुच्छ्रे हिमाल आरोहण खोल्ने तयारी सुरु भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँकार्यपालिकाको बैठकबाट पारित गरेर पर्यटन मन्त्रालयमा पठाएको पत्रको आधारमा थप अध्ययन गरी पर्यटन विभागले हिमाल आरोहरण सुरु गर्ने बारे प्रक्रिया सुरु गरेको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माछापुच्छ्रे हिमाल विश्वकै सातौँ सुन्दर हिमालको सूचीमा छ । ‘मौसुफ सरकारले आदेश दिइबक्स्यो, अनि हिमाल आरोहण पनि बन्द भयो’ एक स्थानीयले भने, ‘तत्कालीन सरकारले २०२० साल फागुन ५ गतेबाट आरोहणमा रोक लगाएको थियो ।’
‘माछापुच्छ्रे हिमाल भगवान् शिवको अर्को रूप’
गाउँपालिकाका स्थानीयहरुले माछापुच्छ्रे हिमाल भगवान् शिवको अर्को रूप मान्ने गरेको पाइन्छ । हिमाल आरोहण गर्दा भगवान शिव रिसाउने भन्दै स्थानीयहरुले २०२० सालमा तत्कालीन सरकारलाई आरोहण रोक्न आग्रह गरेको बताउँछन् ।
‘हामी गुरुङ मगरहरुले माछापुच्छ्रेलाई भगवान् शिवको प्रतिमूर्तिको रूपमा मान्छ र पूजाआजा गर्छ,’ माछापुच्छ्रेका लालबहादुर गुरुङले भने, ‘भगवानलाई त कुल्चन भएन, फोहोर पार्न भएन त्यै भएर गाउँलेले आरोहण गर्न नदिन भनेर सरकारलाई भन्यो। मौसुफ सरकारले पनि त्यै अनुसारको हुकुम गरिबक्स्यो।’ तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गाउँलेहरूको आग्रहको सुनुवाई गर्दै आरोहण बन्द गर्न लगाएको लालबहादुरले बताए । यस बीचमा केही विदेशी आरोहीले हिमाल आरोहणको प्रयास गरे पनि उनीहरुको धेरै आरोहण असफल नै भयो ।
‘गाउँपालिकाको आर्थिक समृद्धिको मुख्य आधार भनेकै पर्यटन हो’
गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले माछापुच्छ्रेको आरोहण खुल्ला गर्दा स्थानीयहरूलाई फाइदा पुग्ने बताउँछन् ।
‘यहाँको आर्थिक समृद्धिको मुख्य आधार भनेकै पर्यटन हो,’ उनले भने, ‘यस क्षेत्रमा अहिले पनि विदेशी तथा स्वदेशी पर्यटक नआउने हैनन् । तर, अहिलेको गतिविधिले मात्र यहाँको आर्थिक समृद्धि नहुने भएकोले हिमाल आरोहण खुल्ला गर्नका लागि हामीले निवेदन लेखेरै आग्रह गरेका थियौँ । रिप्लाई पोजेटिभ नै आएको छ ।’ उनले विज्ञानको युगमा प्रवेश गरिसकेको भन्दै परम्परा पनि सोहीअनुसार परिवर्तन भएको भन्दै हिमाल आरोहण खुल्ला गर्न माग गरेको बताए ।
‘विश्वकै सातौँ सुन्दर हिमाल आरोहण गर्न चाहने कति होलान,’ उनी भन्छन, ‘हामीले आफ्नो सम्पदाको भरपुर उपयोग गरौँ हानी होइन फाइदाको काम गरौँ भन्ने सोँच राखेर यसो गरेका हौँ।’
‘ हिमाल आरोहण फुकुवा गर्ने तयारीप्रति स्थानीय असन्तुष्ट’
गाउँपालिकाले माछापुच्छ्रे हिमाल आरोहणका लागि फुकुवा गर्न लागेको तयारीप्रति स्थानीयहरु असन्तुष्ट रहेको बताउँछन । ‘यस्तो राम्रो हुँदैन भन्यो भने तँ विकास विरोधी भनि हाल्छन्,’ माछापुच्छ्रेका एक स्थानीयले नाम उल्लेख नगर्न भन्दै भने, ‘यो हिमाल खोल्दैमा यहाँका जनतालाई के हुन्छ । सीमित केहि मान्छे मोटाउला त्यै त हो । भगवान्लाई खुसी पार्न जान्नु पर्छ । अहिलेको काम गाउँपालिका प्रमुख र पर्यटन व्यवसायीबाहेक अरूले लाभ लिने खालको हुँदै होइन।’
यस्तो भन्छन, पोखराका पर्यटन व्यवसायी
पोखराका पर्यटन व्यवसायीहरू पनि माछापुच्छ्रेलाई अहिलेकै अवस्थामा राखिराख्न आरोहण अनुमति दिन नहुने तर्क राख्छन् । ‘माछापुच्छ्रेलाई अहिलेकै अवस्थामा छोड्नु पर्छ,’ एक व्यवसायीले भने, ‘माछापुच्छ्रे आरोहण खुल्ला गरेको केही समय मान्छे धेरै नै आउलान तर, यसको महत्त्व र गरिमा भने घट्छ—घट्छ ।’ खुल्ला गरिएका सबैमा आरोहण हुन सकेन नेपालमा अहिले जम्मा ४७६ वटा हिमश्रृंखलामा आरोहण खुल्ला गरिएको छ ।
तीमध्ये जम्मा ४२५ वटा हिमालमा मात्र आरोहणको प्रयास भएको छ । योमध्ये पनि २२५ हिमालमा मात्र आरोहण सफल भएको छ । आरोहण रुचाउनेहरूलाई अन्य थुप्रै हिमालहरू रहेको ट्रेकिङ व्यवसायीहरूको भनाइ छ ।
सन्दर्भ सामाग्रीः सन्तोष अधिकारी, थाहाखबर डटकम
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो