काठमाडौं, २५ कात्तिक / नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।
शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले जानकारी दियो ।
९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।
२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष । स्वर्गीय कीर्तिनिधि बिष्टको परिचय हो यो । राजा महेन्द्रको शासनकालमा उनी पहिलो पटक प्रधानमन्त्री बने, त्यसपछि दुई पटक राजा वीरेन्द्रका सरकार प्रमुख । र, राजा ज्ञानेन्द्रले उनलाई तुलसी गिरीपछि दोस्रो वरियताका मन्त्रिपरिषद् उपाध्यक्ष बनाए ।

उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।
पञ्चायतकालमा प्रधानमन्त्री पदमा हुँदा विष्टले उत्तरी नाकाबाट भारतीय सेनालाई फिर्ता पठाएका थिए । चीनसँग जोडिएका नाकामा रहेका भारतीय पोष्टहरु हटाएर चर्चामा आएका थिए ।
उनको महाप्रस्थान भने शान्त र तडकभडकरहित थियो । न त भद्दा शवयात्रा, न सयौं मलामी, न पशुपति आर्यघाटमा राजकीय सम्मान नै । परिवार स्रोतका अनुसार उनको अन्तिम इच्छा नै महाप्रस्थानमा राजकीय सम्मान नदिनु भन्ने थियो ।
ज्ञानेश्वरस्थित निवासबाट उनको शव यात्रा शुरु हुँदा मलामीको ठूलो ताँती पछाडि लागेको देखिएन । जीवनकालमा खासै विवादमा नआएको व्यक्तित्व थियो उनको ।
आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्रपा अध्यक्ष कमल थापा मात्र पुगेका थिए ।
आर्यघाटको परम्परागत चितामा उनको पार्थिव शरीर आगोमा विलिन हुँदै गर्दा परिवारका सदस्य र शुभेच्छुकहरुको सानो समूह मात्र उपस्थिति थियो ।

Onlinekhabar
सम्बन्धित खबर
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस