रञ्जन अधिकारी, पोखरा । दुई ट्राफिक जवान आफै प्रहरी हिरासतमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको छ ।
चेकिङका क्रममा घुस मागेपछि चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की ट्राफिकले जनाएको छ । रिमाल र बिक समेतको ड्युटी आइतबार दिउँसो पोखराको विजयपुर खोला पुलमा थियो । पुलको अवस्थाका कारण हेभीवेट गाडीहरु त्यहाँ आवतजावत गर्न मिल्दैन । त्यसैले, ट्राफिक प्रहरी पुलमा बस्ने गर्छ । चेकिङ प्रयोजन भन्दा पनि त्यहाँ गाडी आवतजावत सामान्य बनाउन ट्राफिक खटाइने गरेको छ । उनीहरुले चेकिङमै उत्रेर पैसा मागेको आरोप लागेको हो ।
विहान १० देखि दिउँसो २ बजेसम्म ड्युटी परेका जवानद्वयले कलेज पढ्ने विद्यार्थीसँग पैसा लिन खोजेको उजुरी परेको हो । त्यसबारे गुनासो भएपछि उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको हो । ‘उनीहरुसँग बयान भएको छैन । पैसा लिए नलिएको बारे भोलि उनीहरुले भन्लान् ।’ कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले भने – ‘यदि घुस मागेकै प्रमाणित भए नियमानुसार कारबाही हुन्छ । अहिले वडा कार्यालय बैदामकै हिरासतमा छन् ।’
वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले दुई जनालाई नियन्त्रणमा राख्न वडा पठाएको पुष्टि गर्दै अहिले आफ्नो कार्यालयमा रहेको र उनीहरुसँगको बयान तथा अनुसन्धानपछि घुस लिए नलिएको बारे पुष्टि हुने बताए ।
यसैबीच, अहिले कास्की ट्राफिक घुस काण्डले तातेको छ । लाइसेन्स बितरणमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको समाचार टाउको दुखाइ बनेको छ । ट्राफिक प्रहरी प्रमुख मिश्रले आफ्नो चरित्र हत्या गरिएको गुनासो गरे । कुनै पनि लाइसेन्स सेटिङमा आफ्नो संलग्नता नरहेको उनको जिकिर छ । यातायात कार्यालयसँग कास्की ट्राफिक कार्यालयको सेटिङमा फेल हुनेलाई पनि लाइसेन्स दिनेबारेको समाचार आएको र त्यसमा आफूलाई मुछेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले गुनासो गरेका छन् ।
कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर मुरारी मिश्रको संरक्षणमा असई केशर मल्लले लाइसेन्समा सेटिङ गर्दै आएको समाचार सार्वजनिक भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले लाइसेन्स बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै ४० हजार घुस लिंदालिंदै २०७६ जेठ १३ मा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुको बयान मार्फत नै यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेको समाचार प्रकाशित भएको थियो । पैसा खाने आरोप लागेका असई केशर मल्ल बिदामा बसेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’