काठमाडौं । चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । न्युज २४ का अर्का पत्रकार युवराज कँडेल र गलफ्रेण्ड भनेर चिनाइएकी अस्मिता (रुकु) कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लामिछाने र युवराजलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।
ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ।
स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। रविसहितको समूहको नियन्त्रणमा रहेकी अस्मितासँग लाइभ अन्तरवार्ताको तयारी गर्दा गर्दै प्रहरीले पक्राउ गरी लगेको हो। महिला प्रहरीसहितको टोलीले उनलाई पक्राउ गरेर चितवन लगिसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।
‘हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’, मल्लले भने, ‘पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’ आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।
पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ।
पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।
पाँच वर्ष कैद र ५० हजार रुपैयासम्म जरिवाना
कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाच वर्ष कैद र ५० हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरेको छ । उपदफा (१) मा स्पष्ट भनिएको छ– कसैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।
एक वर्षअघि नै जारी भएको मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रवृत्तिलाई रोके पनि आजसम्म यसअन्तर्गत कसैलाई सजायँको भागी बनाइएको छैन । सम्भवतः पत्रकार पुडासैनी आत्महत्याको विषय कानुन कार्यान्वयन निकायका लागि पहिलो मुद्दा हुनेछ ।
http://gandaknews.com/rabi-salikram/
http://gandaknews.com/rabi-shalikram/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो