भारतको आन्ध्र प्रदेश राज्यस्थित गुन्टुर जिल्लाकी ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। येरामति मंगायम्माले बुधबार बिहान साढे १० बजे बच्चा जन्माएकी हुन्। शल्यक्रिया गरेर उनीबाट जुम्ल्याहा छोरीको निकालिएको हो। उनी नेलापर्तिपडु गाउँकी बासिन्दा हुन्।
‘आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ,’ उनको शल्यक्रियामा संलग्न डा उमा शंकरले बिबिसीसँग भनिन्।
सबैभन्दा बढी उमेरमा बच्चा जन्माउनेमा यी वृद्धाले कीर्तिमान बनाउन सक्ने ठानिएको छ। यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी महिलाको उमेर ६६ वर्ष थियो। तर मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको दाबी गर्ने गरेका छन्। सन् २००७ मा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी उनीहरुको दाबी छ।
जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मंगायम्माले भनिन्, ‘मानिसहरूले मलाई बाँझी भन्ने गर्थे। मैले धेरै पीडा झेलेकी छु। अतः मैले बच्चा जन्माउने निर्णय गरेँ। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो।’
श्रीमतीले जुम्ल्याहा पाएपछि श्रीमान् यरामति सीताराम राजाराव पनि उत्तिकै प्रफुल्ल छन्। ‘अब म खुसी छु। डाक्टरहरूले गर्दा यो सब सम्भव भयो। यो अस्पतालमा उपचार गराएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन्। हामी नौ महिनादेखि अस्पतालमै छौं। अब छोरीहरुको राम्ररी हेरचाह गर्नेछौं,’ उनले भने।
कसरी सम्भव भयो?
सन् १९६२ मार्च २२ मा बिहे गरेका यी दम्पतीको सन्तान नभएपछि उपचारका लागि धेरै अस्पताल धाए। केही दिनअघि उनीहरूकै क्षेत्रमा एक ५५ वर्षीया महिलाले बच्चा जन्माएकी थिइन्।
त्यसपछि नै यो दम्पतीले आइभिएफ विधिमार्फत एक पटक सन्तानका लागि कोसिस गर्ने निर्णय गरेको थियो। गतवर्ष यो दम्पती डाक्टर उमा शंकरको क्लिनिकमा उपचारका लागि पुगेको थियो। हाल बच्चा पाएको अस्पतालमा एक दिन आवश्यक परीक्षणपछि डा शंकरले मंगायम्माको उपचार थालेकी थिइन्।
उमेर बढ्दो उमेरसँगै महिलाको डिम्ब उत्पादन हुन कम हुँदै जान्छ। यो प्रक्रिया ३५ वर्षपछि त झन् तीव्र रुपमा सुरु हुन्छ।
मंगायम्माको महिनावारी पनि बन्द भइसकेको थियो। उमेर निकै भइसकेकाले चिकित्सकीय सहयोगबिना उनले बच्चा पाउन सम्भव थिएन। गर्भाधारणका लागि उनले एक दाताबाट डिम्ब लिइन्। प्रयोगशालामा आइभिएफ विधिमार्फत उनका श्रीमान् सीतारामको शुक्राणुबाट सेचन गराइयो।
त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा प्रतिस्थापित गरियो। अन्ततः उनी वृद्धावस्थामा गर्भवती भइन्। धेरै उमेर भइसकेका महिलामा गर्भाधारणको प्रक्रिया जटिल हुन्छ। त्यस्ता गर्भवतीले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ।

(बिबिसी हिन्दीबाट)
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो