पोखरा । बुधबार मध्यान्हको समय । पोखरा ८ सिमलचौर स्थित एक घरको माथिल्लो तल्लामा टीनको कोठा छ । त्यहाँ सादा पोशाकका प्रहरीहरु कसैको प्रतिक्षा गरिरहेका छन् । हप्तादिन अघिदेखिको लागूऔषध सप्लायर र डिलर कब्जामा लिने मिसन खेर नजाने गरी तम्तयार अवस्थामा छन् उनीहरु । बिहानै ४ बजेदेखि नै डेरामा बस्ने युवकसँगै उनीहरु छन् ।
१२ बजेपछि एक युवक माथिल्लो तला उक्ले । हल्का दारी जुङ्गा, लामो लामो कपाल माथि कालो टोपी, फिक्का गुलाबी रङको टिसर्ट, निलो जिन्स पाइन्ट, हरियो जुत्ता लगाएका । टिसर्टमा लेखिएको थियो ‘टाईम नही अप्ना तो जमाना आएगा’ अर्थात् ‘समय होइन आफ्नो जमाना आउँछ’ । ब्राउन सुगर सप्लाई गरेर आफ्नो जमाना ल्याउने लक्ष्य लिएको जस्तो भाव । तर, बाधक बन्यो प्रहरी । यसअघि सजिलै पोखरा भित्रिएर हौसिएका बाँकेका ३८ बर्षीय सत्या चौधरीको जमाना मात्र होइन, समय समेत आफ्नो वशमा रहेन अब ।
सत्या डेरामा बस्ने स्याङ्जा आधिँखोला गाउँपालिका–१ दरौं सिरुबारीका २५ वर्षीय अविन गुरुङलाई ब्राउन सुगर बेच्न ल्याएका थिए । अबिनकै डेरा कब्जामा लिएर सँगै पर्खाईमा बसे ४ जना सिभिल प्रहरी । एक हप्तादेखि अबिनको रेकी गरेर प्रहरी बसेको थियो । सत्या सप्लायर हुन् भने अबिन डिलर । उनको पोखरामा ठूलै डिलर रहेको प्रहरी बताउँछ । १ वर्षदेखि उनी त्यस कोठामा छन् । कोठाका खापाहरुमा भगानका चित्र र पूजापाठका सामाग्री समेत छन् । यसो हेर्दा घरबेटी नवराज गुरुङका परिवारलाई आफू राम्रो मान्छे देखाउन खोजेका हुन सक्छन् अबिनले ।

चौधरीले भारतबाट भित्राएको ब्राउन सुगर नेपालगञ्जबाट किनेर पोखरा ल्याई अबिनलाई बेच्ने गरेको खुल्यो । जब, जिल्ला प्रहरी कार्यायलका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा रंगेहाल १३ ग्राम ब्राउन सुगर वेट मेसिन समेत समातियो । सत्याले भारतबाट किन्दा १ ग्रामको ३८ सय र अबिनलाई बेच्दा ७ हजार लिने गरेको खुलेको छ । अबिनले प्रयोगकर्तालाई १ ग्रामकै ४० हजारमा बेच्ने गरेको बुझिन्छ । १३ ग्रामको ५ लाख २० हजार पर्न जान्छ ।

अबिन विगतमा पनि यस्तै क्रियाकलापमा संलग्न रहेको बुझिएको छ । यसपटक दुवै जना समातिए । असई सुवेदी नेतृत्वको टोलीले यस्ता धेरै घटनामा सफलता पाएको छ । गत वर्ष क्षेत्रीय प्रहरी र यसपटक संघीय प्रहरीबाटै उनी उत्कृष्ट कर्मचारीबाट पुरस्कृत समेत भए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु