पोखरा । अघिपछि सुनसान हुने पोखराका सुकुम्बासी बस्ती चुनावमा गुल्जार हुन्छन् । भोट माग्न पुग्ने दलको बेस्सरी नारा घन्किन्छ । अघिपछि नझुल्कने उम्मेदवार पनि चुनावमा हात जोर्दै झुपडी पुग्छन् । रातो पुर्जाको आश्वासन बाँड्छन् । प्रलोभनमा पार्ने भरमग्दुर प्रयास गर्छन् । पोखरा ९ का सुकुम्बासी भने आफूहरुलाई कुनै प्रलोभनले नलोभ्याउने बताउँछन् ।
यो वडामा ठूल्ठूला सुकुम्बासी बस्ती छन् । तुलसीघाट, शान्तिवन, पृथ्वीचोक वरपरका सहाराटोल, शिवटोल, शुभकामना टोल, पार्वती टोल, गणतान्त्रिक टोल, कृष्ण टोल यहीं वडामा पर्छन् । क्षेत्र नम्बर २ को उपनिर्वाचनमा यी बस्तीबाट झण्डै २ हजार मतदाताले भोट हाल्दै छन् । गएको चुनावमा उनीहरुले तीनपल्ट रवीन्द्र अधिकारीलाई जिताएर प्रतिनिधिसभा पठाए । यसपल्ट पनि आफ्नो मन र मत नबदल्ने उनीहरु बताउँछन् ।
शुभकामना टोलका आशबहादुर विक अघिल्लोपल्ट जस्तै यसपल्टको चुनाव सुकुम्बासीका मतदातालाई कुनै प्रलोभनले नलोभ्याउने दाबी गर्छन् । ‘बाहिर हल्ला चलेजस्तो सुकुम्बासीहरु पैसामा बिक्दैनन,’ उनी भन्छन्, ‘कसलाई जिताउने भन्ने हाम्रो मनमै छ ।’ गणतान्त्रिक टोलकी यमुना गुरुङको नेकपा नै सुकुम्बासीलाई बुझ्ने एकमात्र पार्टी भएको उनको ठम्याइ छ । ‘हाम्रो मनमा विद्या बसिसकेकी छन्,’ उनले भनिन् ।
२०७४ मा भएको चुनावमा आर्थिक चलखेल हुन नदिन बसपार्क छेवैको पार्वती टोलमा स्थानीयले गस्ती नै गरे । तत्कालीन कांग्रेसका उम्मेदवारले सुकुम्बासी बस्तीमा पैसा बाँड्न लागेको सुइको पाएपछि उनीहरुले गस्ती गरेका थिए । शिव टोलका कृष्ण पाण्डे यसपल्ट पनि कुनै चलखेल हुन नदिने बताउँछन् । ‘अहिले पैसा बाँड्नेले भोलि चुनाव जितेर गएपछि त्यहीं पैसा उठाउनतिर लाग्छन्,’ उनी भन्छन्, ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ ।’
सहाराटोलकी कमला विक सुकुम्बासीको एकमात्र आशा नेकपा नै भएको सुनाइन् । उनले मुलुकमा स्थायीसरकारमार्फत समृद्धि हासिल गर्न नेकपाको विकल्प नभएको उल्लेख गरिन् । पोखरा बसपार्कको छेउछाउमा ०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन् ।
बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन् । यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन् । बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ ।
प्रत्येक चुनावमा टोलबासीले उम्मेदवारसँग लालपुर्जा कै मुद्दा उठाउँछन् । तर उनीहरुको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन । ‘हाम्रो मुख्य माग नै लालपूर्जा हो,’ शान्तिवनका आइतमान गुरुङ भन्छन्, ‘यो माग नेकपाबाहेक अरुले पूरा गर्छन् जस्तो लाग्दैन ।’
बसपार्क विस्तारका लागि पोखरा उपत्यका नगर विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।
हाल ८२ रोपनी क्षेत्रमा मात्र बसपार्क छ । ९ नम्बर वडामा नेकपाको चुनावी मोर्चा सम्हालेकी गण्डकी प्रदेश सांसद प्रभा कोइराला सुकुम्बासी व्यवस्थित गर्ने नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँछिन् । ‘मुलुकमा कोही पनि भूमिहिन हुनुहुँदैन भन्नेमा हामी स्पस्ट छौं,’ उनी भन्छिन् । बसपार्क पनि बनाउने र सुकुम्बासीलाई पनि व्यवस्थित गर्ने योजना नेकपाको रहेको उनले जनाइन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’