गण्डकी प्रदेशको राजधानी पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो ।
३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएकोे छ । अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ । ‘गण्डकी प्रदेश सरकारले छुट्याएको रकमलाई बीऊ पुँजी मानेर अस्पताल निर्माणको थालनी भएको छ । प्रदेशले अर्को वर्ष थप रकम विनियोजन गर्ने छ,’ पोखरा नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकारले भनिन् ।
विसं २०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहीबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् । शिलान्यासपछि अर्थमन्त्री गुरुङले प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण हुने बताए ।

‘दक्ष जनशक्ति उत्पादन गरेर गुणस्तरीय नर्सिङ सेवा दिने गरी अस्पताल निर्माण गर्न गण्डकी प्रदेश सरकारले यसै वर्ष पनि १ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ गुरुङले भने, ‘अर्को आर्थिक वर्षमा अझ बजेट वृद्धि हुने छ भने हामीले समन्वय पनि गर्नेछौं ।’
२०३९ साल फागुनमा सीएमए कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थी लिएर अध्यापन सुरु भएको पोखरा नर्सिङ क्याम्पसमा अहिले २ सय ३८ नर्सिङ विद्यार्थी अध्ययनरत छन् । २०४१ सालदेखि नर्सिङ कार्यक्रम अन्तर्गतका प्रवीणता प्रमाणपत्र तहका कक्षाहरु सुरु भएको थियो ।
०६२ मा नर्सिङ क्याम्पसले २० जना विद्यार्थीबाट स्नातक तहका कक्षाहरु सञ्चालन थालेको थियो । हाल स्नातक तहमा ४० जनाको कोटा छ । २०७४ सालदेखि चाइल्ड हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र वुमन्स हेल्थ एन्ड डेभलपमेन्ट गरी ३ विषयमा स्नातकोत्तरको कक्षा सुरु भएको थियो । अहिले १५ जना स्नातकोत्तरमा अध्ययनरत छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो