विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम मिनेट सम्हालिन नसक्दा पुलिसले जीतका लागि पेनाल्टी सुटआउटकै सहयोग लिनुपर्यो ।
पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलको जित निकाल्दै ५ पटकको विजेता पुलिसले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट १/१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीले कुनै गोल नगरेपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा विभागीय पुलिस क्लबलाई भाग्यले साथ दियो । पुलिसका लागि भरत शाह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गर्न सफल रहे । अनुप लिम्बुको सूटलाई सहाराका कीपर अर्पण कार्कीले उत्कृष्ट सेभ गरे ।
त्यस्तै, आयोजक सहाराका लागि आशिष गुरुङ र अजय श्रेष्ठको टाइब्रेकर सूटले मात्रै जाली चुम्यो । सहाराको तर्फबाट विदेशी उलरिच राम्जेको पहिलो टाइब्रेकर सूटलाई पुलिसका कीपर रोशन खड्काले विफल तुल्याए । त्यस्तै, सहाराकै त्रिदेव गुरुङको टाइब्रेकर सूट माथिल्लो क्रसबारमाथिबाट बाहिरियो । यसअघि, खेलको ७५ औं मिनेटमा भरत शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो । भरतले डी–एरिया बाहिरबाट एक मात्र विपक्षी डिफेन्डर किरण मगरलाई छक्याउँदै उत्कृष्ट गोल गरे । निर्धारित समयमै करिब जित निकालेको पुलिस अन्तिममा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ईञ्जूरी समयको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा आयोजक सहाराले गोल फर्काउँदै बराबरीको स्थितिमा पु¥यायो । घरेलु दर्शकको साथ पाएको सहाराका लागि सब्सीच्युट अजय श्रेष्ठले गोल फर्काएका थिए । उनले ९० जोड ४ मिनेटमा गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए । मानबहादुर तामाङको क्रस बलमा अजयले उत्कृष्ट गोल गरेका थिए । सुमित श्रेष्ठको सट्टा मैदान छिरेका अजयले केही समयपछि नै गोल गर्न सफल बनेका थिए । पुलिसका कीपर रोशन खड्का खेलको ‘म्यान अफ दी म्याच’ बने ।
पुलिसका कप्तान भोला सिलवालले पाएको अवसरलाई टोलीका भरपर्दा खेलाडीले सदुपयोग गर्न नसक्दा आयोजकसँगको जित सहज नभएको प्रतिक्रिया दिए । त्यसमाथि, टोली अन्तिम समयमा सम्हालिन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको उनको प्रतिक्रिया थियो । यता, उद्घाटन खेलमा दुई पटक पछि परेरपनि रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनल खेलेको सहाराका लागि भने टाइब्रेकर सूट अफापसिद्ध बन्यो । विभागीय जस्तो टिमसँग खेल्दा आफूले र आफ्ना खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको सहाराका प्रशिक्षक बिष्णु गुरुङले प्रतिक्रिया दिए । टोलीले निर्धारित समयमा बराबरीको नतिजा निकाल्न सक्नु नै टिमको राम्रो पक्ष रहेको उनको प्रतिक्रिया थियो । खेलको ११९ औं मिनेटबाट विभागीय पुलिसको १० खेलाडीले मात्र खेल खेल्यो । पुलिसका कप्तान भोला सिलवालले दोहोरो पहेँलो सहित रेड कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसअघि, मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले ९० जोड २ औं मिनेटमा भोलालाई पहिलो पहेँलो कार्ड देखाएका थिए ।
भोलाले आफ्नो हरेक निर्णयमा बाधक बनेका कारण भोलालाई मैदान बाहिर पठाएको मुख्य रेफ्री श्रेष्ठले प्रतिक्रिया दिए । श्रेष्ठले भने, ‘रेफ्रीको हरेक निर्णयमा भोलाले प्रतिक्रिया र असन्तोष मात्रै जनाएकाले रेडकार्ड देखाएर उसलाई मैदानबाहिर पठाउनुपरेको हो ।’तर, कप्तान भोला सिलवालले भने रेफ्रीको केही निर्णयहरु अलि अपरिपक्व रहेकाले आफूले रेफ्रीसँग आग्रह मात्रै गरेको जनाए । उनले भने, ‘रेफ्रीको निर्णयमा चित्त बुझेन भने क्याप्टेनसीपको हिसावले आग्रह गर्न पाइन्छ । मलाई रेडकार्ड देखाउने कुनै कारण थिएन । पुलिसको टिममा आबद्ध रहेर १५ वर्ष फुटबल खेलें । त्यो भन्दा पहिले ५ वर्ष मोरङ जिल्लाको टिमबाट फुटबल खेलें । मेरो २० वर्षे फुटबल करियरमै यो पहिलो रेड कार्ड हो ।’
पुलिसले सेमिफाइनलमा सोमबार हुने क्वार्टरफाइनलिस्ट थ्री–स्टार र भारतीय सिक्किम गान्तोक सिटी क्लबबीचको विजेतासँग सेमिफाइनल खेल खेल्नेछ । सहिन स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टार र सिक्किमको गान्तोक सिटी दुबै टिमले सिधा बाई पाएर प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने भएका हुन् । आइतबार (भोली) झापा–११ र मनाङ मस्र्याङ्दीले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल खेल्नेछ । झापा–११ ले अन्तिम प्रि–क्वार्टरफाइनलमा विभागीय पुलिसलाई टाइब्रेकरमै हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । मनाङ मस्र्याङ्दीले भने सिधा बाई पाएर प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने भएको हो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’