अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा ठूलो जनधनको क्षति भएको छ । पोखरा महानगरपालिकामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पाँचजना, वडा नम्बर– २५ हेम्जामा एकजना र वडा नम्बर– २६ पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।
सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनका परिवारका तीन जना र पाहुना दुई जना गरी पाँच जनाको मृत्यु भएको हो । ५० वर्षीय टंकबहादुर, उनकी ४५ वर्षकी श्रीमती सोममाया, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान र छिमेकी ११ वर्षीया इशिका थापा र टंकबहादुरकी साली सरस्वती श्रेष्ठका छोरा आठ वर्षका शीतल श्रेष्ठको मृत्यु भएको छ ।
घटनामा टंक थापाकी छोरी २२ बर्षकी पिंकी थापाको दुवै खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन । त्यस्तै पिंकी थापाकी छोरी ५ बर्षीया पिरिशा थापा, दमौली घर भएकी २८ बर्षीया साली सरस्वती थापा, छिमेकी १९ बर्षीय अनिश तामाङ, छिमेकी बर्ष १९ को रशि थापा, बर्ष १९ कै रश्मी थापा पनि घाइते छन् । पिंकीकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा र अन्यको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घरमा जन्मदिन मनाउने कार्यक्रम भएकाले टंकबहादुरको घरमा आफन्त र छिमेकी पनि जम्मा भएका थिए ।
पैतेडाँडामा सुनारको मृत्यु, श्रीमतीले उठाउँदा उठेनन्
पोखरा महानगरको वडा नम्बर २६ पैतेको डाँडामा गएको पहिरोमा परी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । दुर्गाबहादुरका श्रीमती र छोराछोरीको भने सकुशल उद्धार भएको छ ।
बिहीबार राति घर पहिरोमा पुरिँदा घरका अन्य सदस्य भाग्न सफल भएपनि सुनार पहिरोको चपेटामा परेका हुन् । ‘घटनाको समयमा घरमा ४ जना रहेको र पहिरो आएको थाहा पाएपछि अरु भागेपनि सुनार नभाग्दा ज्यान गुमाउनुपरेको स्थानीयले जनाएका छन् ।
शुक्रबार बिहान झन्डै ७ बजे श्रीमती उठेर सुनारलाई पहिरो आउलाजस्तो छ बाहिर जाम् हिँड्नुस् भनेकी थिइन् । तर उनी उठेनन् । उनी निद्रामै भएकाले पहिरोले पुरिएको अनुमान छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी टोलीले घटनाको २ घन्टापछि उनको पुरिएको अवस्थाबाट मृत अवस्थामा बाहिर निकालेको थियो ।
२ वर्ष अघि पनि सोही ठाउँमा पहिरो जाँदा ४ जनाले ज्यान गुमाएका थिए । पैतेडाँडा भिरालो जमिन भएकाले पहिरोको जोखिम बढी छ । अझै पनि अन्य घरपरिवार पहिरोको उच्च जोखिममा छन् । जोखिममा परेकालाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको स्थानीयले जनाएका छन् ।

हेम्जामा बृद्धाको मृत्यु
पोखरा महानगरपालिकाकै वडा नम्बर २५ हेमजा मेलबोटमा पहिरोमा परी ७० वर्षीया हिमकली अधिकारीको मृत्यु भएको छ । उक्त स्थानमा सात घर पहिरोको उच्च जोखिममा रहेकाले ती घरका मानिसलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । हिमकलीका छोरा ३२ वर्षीय रामचन्द्र अधिकारी र बुहारी दीपा अधिकारी भने अर्को घरमा सुतेकाले सुरक्षित रहेको कास्की प्रहरीले बताएको छ ।
राति करिब साढे १ बजेको समयमा पहिरो गएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेर ७ जनालाई सकुशल उद्धार गर्न सफल भएको कास्की प्रहरीले जनाएको छ । तीन वटा बाख्रा पनि पुरिएका छन्।
सिमलटुँडामा दुई घाइते
वडा नम्बर १७ सिमलटुँडाका ६० वर्षीय चन्द्रबहादुर मगर घर पहिरोले भत्काउँदा चन्द्रबहादुरसहित उनका ५० वर्षीय श्रीमती शान्ति र १० वर्षका छोरा सुशान घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा उपमहानगरपालिका ५ मालेपाटनको सुकुम्वासी बस्तीमा बस्दै आएका २ जना पनि घाइते भएका छन्। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’