काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार अबेर राष्ट्रपतिलाई बुझाएको छ । यससँगै केन्द्रमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
बुधबार नै आयोगले अन्तिम नतिजा बुझाउने र लगत्तै केपी ओलीले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै राष्ट्रका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।
तर, आयोगले चुनावको नतिजा शीतलनिवास पठाउन ढिलाइ गरेकाले देउवा सरकारको आयु एक रात लम्बिएको हो । तर, अब नयाँ सरकार गठनको प्रतिक्षा केही घण्टापछि सकिने निश्चित भएको छ ।
मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव भएको थियो । तर, राष्ट्रियसभा निर्वाचन नहुँदा लामो समयसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट तोकिएन ।
४ माघमा राष्ट्रियसभा निर्वाचन भएसँगै समानुपातिक सांसद छनोट प्रक्रिया सुरु भएको थियो । समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट पाएका छन् । त्यसमा विजयी सांसदहरुको नाम टुंगो लगाउँदै आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ ।
देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन
चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे ।
आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै सारिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक छ, त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’
यता एमाले र माओवादीले भने भोलि नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् । एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि यो सरेको हो ।
राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए आजै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन