आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमका अनुसार अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
औँसीलाई पितृको तिथि मानिन्छ । त्यसै अनुसार वैशाख कृष्ण औँशीमा आमाको मुख हेर्ने र भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
कसरी शुरु भयो यो पर्व ?
धेरै वर्ष पहिले एक ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो ।
अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो ।
दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।
यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसी समेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ– ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमा समेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसकेपनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।
कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
कोरोनाले मातातीर्थ मेला स्थगित
वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो