पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १ (ढिकुरपोखरी), लेवाडेमा आइतबार बिहान भएको दुर्घटनामा संलग्न कार चालक अझै फरार छन् । घटना भएको दुई दिनसम्म कास्की प्रहरीले चालक पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जिल बम मल्ललाई पक्राउ गर्न सकेको छैन ।
पर्वतबाट पोखरा फर्कँदै गरेर बाबुछोरी सवार ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया सुजिना तिलिजा पुनको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक ४५ वर्षीय जीतबहादुर पुनको उपचारकै क्रममा सोमबार मृत्यु भयो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनामा संलग्न चालकको खोजी कार्य जारी रहेको र कास्की प्रहरीको अफिसयल फेसबुक पेजबाट सार्वजनिक सूचना जारी गरेको बताए ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले कारमा सवार तीन जना साथीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै चालक मल्ललाई चाँडै नै पक्राउ गर्ने बताए । ‘अहिलेसम्म चालक फरार नै छन् । तर, हामी चाँडै नै पक्राउ गर्छौँ । दोषी उम्कन सक्दैन ।’ तिवारीले भने ।
रक्सी खाएर लापरबाहीपूर्वक कार चलाउँदा दुर्घटनाः प्रहरी
कास्की प्रहरी प्रवक्ता तिवारीले घटनामा संलग्न कार चालकले रक्सी सेवन गरी कार हुँइक्याएको पुष्टि गरे । कारमा सवार अन्य साथीहरुले पनि मापसे गरेको र उनीहरुको बयानअनुसार चालकले पनि मापसे गरेको खुलेको हो । शनिबार पोखरा आएर लेकसाइड बसी रातभर रमाइलो गरेपछि बिहानै बागलुङतर्फ गएको बयान दिएका छन् । बाटोमा हेम्जाको घट्टेखोलामा फेरि बियर पिएर उकालो लागेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा थियो । घुम्तीमा बसलाई ओभरटेक गर्दै अघि बढ्दा गलत लेनमा रहेको कारले आफ्नै बाटोमा आइरहेको मोटरसाइकललाई ठक्कर दियो । कारको अघिल्तिरको भागमा पूर्ण क्षति पुगेकाले पनि तीव्र गतिमा कार हुइंकिएको पुष्टि हुन्छ ।

घुम्तिमा ओभरटेक गरी आफ्नै लेनमा गुडेको मोटरसाइकललाई ठक्कर
ठक्करपछि कारमा सवार युवाहरुले दुई जना घाइतेलाई सहयोग गर्नुको सट्टा भागे । दुर्घटनापछि स्थानीयहरू जम्मा हुनासाथ कार चालक मल्ल मकैबारीतिर हामफालेर भागेका हुन् ।
डिएसपी तिवारीले कार चालकले गम्भीर लापरवाही गरेको देखिएकाले अधिकतम सजाय हुने बताए । मापसे गरी सवारी चलाएर दुई जनाको ज्यान गएको र ठक्करपछि भागेकाले हिट एण्ड रनमा समेत सजाय आकर्षित हुने उनले बताए ।
कास्की प्रहरीले आफ्नो अफिसियल फेसबुक पेज मार्फत् चालकको तस्वीरसहित खोजतलास सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।
आफन्तले शव बुझेनन्
मृतकका आफन्तले बाबुछोरीको शव बुझेका छैनन् । कारका चालकलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने उनीहरूले बताएका छन् । कार चालक फरार रहेको र प्रहरीले पक्रिन उदासीनता देखाएको भन्दै पोखरा–बागलुङ राजमार्गको हेमजास्थित याम्दी पुलमा सोमबार केहीबेर उनीहरूले सडक अवरुद्ध गरे । त्यसअघि, पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए ।
ट्युशन पढ्न बिहानै पोखरा फर्केकी थिइन् सुजिना
मातातीर्थ औंसीमा आमाको मुख हेर्न शुक्रबार पोखराबाट पर्वतको कुश्मा ४, पूरानोचौकी घर गएकी सुजिनाको यो भेट नै अन्तिम बन्यो । पोखराको अर्चलबोटमा आफन्तकोमा बसेर उनी माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । जेठ १६देखि हुने परीक्षाको तयारीमा रहेकी उनले ट्युशन पढिरहेकी थिइन् । यही ट्युशन भेट्टाउन बिहानै बुबालाई पोखरा छाड्न भनिन् ।
बिहान ७ बजे नै बाबुछोरी ढिकुरपोखरी आइपुगे थिए । तर, रक्सी खाएका अल्लारेले हुँइक्याएको कारले ठक्कर दिँदा बाबुछोरी नै रहेनन् । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार बाबुछोरी नै उछिट्टिएर २० मिटर पर बजारिए । दुर्घटना भएको केहीबेरमै उनीहरूलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याए पनि सुजिनालाई चिकित्सकले मृत घोषित गरे । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान निधन भयो । अहिले दुवैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)