गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा दिने योजनाअनुसार कानुन बनाउन थालेको छ । कार्यकालको दोस्रो एवं अन्तिम बजेट ल्याउने तयारी गरिरहेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउन कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउनेसम्बन्धी कानुन मस्यौदाका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
पोखरेल नेतृत्वको सरकारकाे पहिलाे क्याबिनेट निर्णय नै यही सेवासुविधा सम्बन्धमा थियाे । तर, त्यसकाे व्यापक विराेध भएपछि सरकार पछि हटेकाे थियाे । गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारबाट बाहिरिएको ११ महिना भइसकेको छ । गत वर्ष २९ जेठमा जिम्मेवारीमुक्त भएका उनले विपक्षी दलको नेताको हैसियतमा सेवासुविधा लिइरहेका छन् ।
खड्काले पूर्वमुख्यमन्त्री गुरुङले पूर्व मुख्यमन्त्रीको कुनै सुविधा नलिएको जानकारी दिए । ‘उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले प्राप्त गर्ने सेवा सुविधामात्र लिनुभएको छ,’ खड्काले भने । राज्यको सेवा गरेका उच्चपदस्थ पदाधिकारीहरुलाई सुविधाभन्दा पनि सुरक्षासँग बढी केन्द्रित हुने खड्काले बताए । ‘राज्यको सेवा गरेर फर्किंदा पूर्वपदाधिकारीलाई के सुविधा दिँदा ठिक हुन्छ चर्चा गर्छौं,’ मन्त्री खड्काले भने ।
प्रधानमन्त्री, संघीय मन्त्रीलगायत उच्चपदस्थले जिम्मेवारीमुक्त भएपछि पनि सवारी, सुरक्षा, स्वास्थोपचारलगायत सुविधा पाउँछन् । संघसँग आम्दानीका बाटा छन् र सुविधा दिने गरिएको छ । तर, कुल बजेटको १० प्रतिशत पनि आफैँ व्यहोर्न नसक्ने प्रदेश सरकारले सुविधा दिने तयारी गरेको छ ।
सेवा सुविधा दिने कानुन बनाउन बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिव संयोजक, अर्थ र कानुन मन्त्रालयका सचिव सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ । यो कार्यदललाई तीनवटा जिम्मा तोकिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले जानकारी दिए ।
पूर्वपदाधिकारीलाई कस्तो सुविधा दिन उपयुक्त हुन्छ भन्ने यकिन गर्ने, पूर्वपदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउनेसम्बन्धी कानुनका मस्यौदा गर्ने र नेपाल सरकार र अन्य प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन बनाएको कानुनलाई आधार बनाएर कानुनको मस्यौदा गर्ने जिम्मा दिइएको हो ।
यस्तो सुविधा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीले मात्रै नभई प्रदेशसभाका पदाधिकारीले पनि पाउने छन् । ‘गण्डकी प्रदेशका पूर्वपदाधिकारी भनिएको छ । यसले सरकार मात्रै नभनेकाले प्रदेशसभा र सरकार दुवैलाई समेट्छ,’ प्रवक्ता खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने । कसकसलाई के–के सुविधा दिने भन्ने यकिनपछि कानुनमा उल्लेख हुनेछ ।
त्यसैगरी जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सोही दिन बसेको बैठकले विनियोजन विधेयक २०७९ समावेश हुने करका सिद्धान्तबाहेक बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
अर्थमन्त्री राम्जी बराल जीवनले बिहीबार बजेटका प्रथामिकता र सिद्धान्त पेस गरिसकेका छन् । मन्त्रिपरिषदले गण्डकी प्रदेश सभा सचिवालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को प्रतिवेदन स्वीकृत गरेको छ ।
२४ गते नीति तथा कार्यक्रम
गण्डकी प्रदेश सरकारले आउँदो २४ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको सिफारिसमा आगामी आर्थिक वर्ष २०७९ प्रस्ताविक नीति तथा कार्यक्रम बाचन गर्ने छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो