पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्य वृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेसम्मका माग राख्दै पार्टीले विरोध गरेको हो ।
सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडोभन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ । त्योसँगै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त्य गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ । मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ ।

यस्तै, देशभरी भत्काइएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुनर्निर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् । पार्टीले एक घर, एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न, दोहोरो करको खारेजीसँगै राज्यले सीमाक्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने बताएको छ ।
‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौँ । र, हाम्रो माग पूरा नभएको खण्डमा अझै बढि सशक्त रुपमा यो आन्दोलन चर्किदै जान्छ’, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने । उनले भने, ‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्र भने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’ अध्यक्ष गुरुङले नेपाली भूमिमा अमेरिकी सेनाको प्रवेश हुनेगरि सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भएको खण्डमा राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।

बुधबार भएको विरोध प्रदर्शन र्याली सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीहरुले हिन्दू धर्म झल्कने खालका पहिरन लगाउनुका साथै शङ्ख, घण्टी र बाजागाजासहित प्रदर्शन गरेका थिए ।
‘देशव्यापी रुपमा पार्टीले घोषणा गरेको विरोध कार्यक्रम अन्तरगत नै पोखरामा बुधबार हामीले यो प्रदर्शनसँगै प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका हौँ’, राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने, ‘मागहरु सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । तर सरकारको रवैया हेर्दा त्यस्तो देखिँदैन । यदि त्यसो नभएको खण्डमा चरणबद्ध रुपमा हामीले अझै बढि दबाबमुलक आन्दोलन गर्नेछौँ ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै