Gandak News
Our News Your Views
Kabita concert

पोखरामा चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल !

Loading...

विश्व सिग्देल । यतिबेला पोखरेली जनता उत्साहित छन्, आफ्नो आँगनमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने काम अघि बढिरहेको छ । म चाहिँ यो विमानस्थल बन्नुहुँदैन भन्दै आएको छु । यसो भन्दा विकास विरोधी सुनिएला । तर, कुरा त्यसो होइन । वास्तवमै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निम्ति अत्यन्तै प्रत्युत्पादक छ ।

पोखरालाई यसकै मौलिकतामा राख्ने हो र जीवन्त राख्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै हुँदैन । सबै साथीहरुले भने, विमानस्थल बन्ने बित्तिकै पोखराको चकाचौध हुन्छ । मेरो विचारमा त्यस्तो चकाचौध हुँदैन । यसो भन्नुमा मेरा तीन-चार वटा आधार छन् ।

पहिलो आधार हो, अन्तर्राष्ट्रिय उड्डयनको नियमन गर्ने ‘आईकाओ’ को प्रावधान । आईकाओले निर्दिष्ट गरेका १८र१९ वटा प्रावधानमध्ये कुनैलाई पनि पोखराले भेट्दैन ।

आईकाओ भन्छ, ल्यान्डफिल्ड साइट एयरपोर्टभन्दा न्यूनतम ५० माइल पर हुनुपर्छ । तर, यहाँ ल्यान्डफिल्ड साइट र एयरपोर्टको क्षेत्र जोडिएको छ । हाम्रो पोखराको भूगोल कचौरा जस्तो सीमित छ । यस्तो पोखरामा हामी ल्यान्डफिल्ड साइट र एयरपोर्टलाई सँगै राख्न सक्दैनौं ।

पछिल्लो समय काठमाडौंको त्रिभुवन विमानस्थलको कुरा सुनियो, चराहरु जहाजमा ठोक्किने जोखिम बढ्यो भनेर । त्यहाँ चराहरु देखिनुमा बाहिर रहेका सेकुवा पसलहरु एउटा कारण हो भनिएको छ । नदी किनारामा फालिएका फोहोर, सिनो आदि चराको गतिविधि बढाउने कुरा हुन् । पोखरामा एयरपोर्टसँगै ल्यान्डफिल्ड साइट भएमा त्यस्तै जोखिम यहाँ पनि देखिन सक्छ ।

दोस्रो कारण, जहाजको समग्र दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना उडान र अवतरणको बेलामा हुन्छ भनिन्छ । त्यस कारण बस्ती भएको क्षेत्रभन्दा एयरपोर्ट कम्तीमा ५०-६० माइल पर राख्नुपर्ने आईकाओको भनाइ छ । तर, हामीसँग एयरपोर्ट बनाउन ५०-६० माइल पर जाने ठाउँ नै छैन । तराई जस्तो असीमित भएको भए जति पनि फैलिन सकिन्थ्यो ।

तेस्रो कारण, अहिलेको विकासको अवधारणा के हो भने राज्यले खर्च गरेर कुनै कुरा बनाइसकेपछि त्यो पूर्वाधारले सकेसम्म नाफा देओस्, नभए पनि कम्तीमा आफूलाई धानोस् । हामीकहाँ जुन संख्यामा (पोखरा, निजगढ, भैहरवा) एयरपोर्ट बन्दै छ, तिनमा अहिले नेपाल आइरहेका हवाई यात्रुको चाप हेर्दा यो संख्या धेरै हुन्छ । त्यसकारण नयाँ एयरपोर्ट बीसौं वर्षसम्म स्टेन हुन सक्दैन ।

चौथो कारण, पोखरा पर्यटकीय शहर हो । पर्यटनमा प्रकृति र पशुपंक्षी पनि एउटा पाटो हुन्छ । यसलाई पर्यटकीय शहरकै रुपमा राख्ने हो भने हाम्रो वरिपरिका चराचुरुंगीको संरक्षणमा ध्यान दिनुपर्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आएपछि ती कुरालाई नकारात्मक असर पर्छ ।

काठमाडौंको विमानस्थलकै असर नियाल्ने हो भने पशुपतिको वनकाली क्षेत्रलाई हेरौं, जहाँको वनक्षेत्रमा चराको एउटै गुँड छैन । किनकि विमानस्थलमा आउने जेट इञ्जिनको भाइब्रेसनले अण्डा हल्लिने भएकोले त्यहाँ बचेरा कोरल्न मिल्दैन । यो कुरा चराहरुले जानिसकेका छन् ।

यस्तै, जहाजको इको (प्रतिध्वनि) ले पनि असर गर्छ । विमानस्थलमा जेट इञ्जिनहरुको नियमित आउजाउ भइरहनेछ । हामी पोखरामा डाँडा र पहाडहरुसँग यति नजिक छौं, जहाजको निरन्तर आवाजले सुन्दर र शान्त नगरी पोखरामा कोलाहल फैलिन्छ ।

धान्ला पोखराले ?

अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर काम त थालियो, तर यो काम हेर्दा कुनै अध्ययन र सोच बिना केटाकेटीको रहर पाले झैं देखिन्छ । हामी अब अन्तर्राष्ट्रिय विमानस्थल बनाएर ठूला-ठूला जहाज ल्याउँदै छौं । तर, प्रश्न के हो भने ती जहाज प्रवेश गर्ने र धान्ने पोखराको क्षमता छ कि छैन ?

सोझै अन्तर्राष्ट्रिय कनेक्टिभिटी जोडिएपछि पोखराको परिचय अन्तर्राष्ट्रिय शहरको रुपमा स्थापित हुनेछ । त्यसपछि यहाँ स्वाभाविक रुपमा मान्छेहरुको चाप बढ्नेछ । त्यसका लागि पर्याप्त भौतिक पूर्वाधार र खुला ठाउँहरु चाहिन्छ । यसका साथै त्यही अनुसारका होटल र रेष्टुरेन्टहरु हुनुपर्छ ।

अहिले हामीले पोखरामा होटल र रेष्टुरेन्टहरु प्रशस्त देख्छौं । तर, अन्तर्राष्ट्रिय शहरलाई सम्बोधन गर्ने खालका हाम्रा पूर्वाधारहरु छैनन् । स्थानीय आवश्यकता पूर्ति गर्ने खालका मात्र छन् । यसैले ठूला जहाजहरुलाई स्वागत गर्ने तयारी गर्दै गर्दा हामीले पूर्वाधारको बन्दोबस्त पनि गर्नुपर्ने हुन्छ ।

अर्कोतिर, इन्टरनेशनल एयरपोर्ट भन्ने बित्तिकै ‘एयरपोर्ट सिटी’ भन्ने अवधारणामा जानुपर्ने हुन्छ । एयरपोर्ट सिटी सम्पूर्ण सुविधा भएको त्यो सानो शहर हो, जुन हरेक एयरपोर्टको अभिन्न हिस्साको रुपमा रहन्छ । जुन एयरपोर्टको गेटसँग जोडिएको हुन्छ ।

त्यहाँ तारे होटलदेखि साना होटलसम्म हुन्छन्, त्यही वर्गका रेष्टुरेन्टहरू हुन्छन् । जहाँ रात-बिरात मान्छे छोड्न जाने, लिन आउने र जहाजका क्रु मेम्बरहरु त्यहाँ बास बस्न र आराम गर्न सकून् । त्यहाँ सामान तुरुन्तै लोड-अनलोड गर्ने गोदामहरु पनि हुन्छन् । बाराको प्रस्तावित निजगढ विमानस्थलको डिजाइन हेर्दा त्यहाँ ‘एयरपोर्ट सिटी’ को व्यवस्था देखिन्छ । तर, पोखरामा त त्यस्तो अवधारणा नै छैन ।

साथीहरुले अन्तर्राष्ट्रिय विमानस्थल बनेर जहाजहरू आउन थालेपछि त धेरै कुरा हुन्छ भन्ने सोचे । तर, जहाज आउनुभन्दा अगाडि हामीसँग पूर्वाधार के-के हुनुपर्छ र विमानस्थलका दीर्घकालीन असर के-के हुन सक्छन् भन्नेमा ध्यान गएको पाइँदैन ।

गजबको कुरा के छ भने, जहाज आउँदा पोखरालाई जति फाइदा हुन्छ, त्यो फाइदा हामी अन्य विकल्पबाटै लिन सक्छौं । त्यसो हो भने यो विमानस्थल र जहाजको बोझ किन बोक्ने !

विकल्प के त ?

त्यसो त विकासको अवधारणा अनुसार विकासको प्रतिफल चाख्ने क्रममा केही प्रतिकूलताको पनि सामना गर्नुपर्छ । धुवाँ, धूलो र तातो हावा आउँछ भनेर झ्याल राखिएन भने उज्यालो बाहिरै पर्छ र चिसो हावा पनि खेल्न पाउँदैन । त्यस कारण अक्सिजन र उज्यालो पाउनका लागि अलिअलि धुवाँ-धूलो खानुपर्छ भन्ने हाम्रो सिद्धान्त हुन्छ ।

तर, अन्तर्राष्ट्रिय विमानस्थल बनेमा अलिअलि हैन, पर्यटकीय शहरले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । पोखराको पर्यटन र आर्थिक विकासमा यो विमानस्थलले जे-जति फाइदा गर्छ, त्योभन्दा धेरै गुणा फाइदा हामी अर्को तरिकाबाट लिन सक्छौं । हामीसँग वैकल्पिक उपायहरू छन् ।

उदाहरणको निम्ति, काठमाडौं-पोखरा चार लेनको सडक बन्यो भने साढे एक घण्टाको ड्राइभमै आउजाउ गर्न सकिन्छ । नागढुंगा-नौबिसेमा सुरुङ मार्ग बनेपछि यात्रा अझ सहज हुनेछ । यो स्थितिमा काठमाडौंको एयरपोर्ट हाम्रो पनि हुनेछ ।

मैले युरोप र अमेरिकाका धेरै एयरपोर्ट र ठूला शहरहरु देखेको छु । कुनै पनि एयरपोर्ट आधा घण्टाभन्दा कम ड्राइभमा पुग्न सकिँदैन, प्रतिघण्टा ७० माइलको गतिमा गुड्दा ।

एवम् रीतले भैरहवामा बनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको विमानस्थलको बीचमा हवाई दूरी ६० माइल छ । हामीले द्रुत मार्ग (रेल वा सडक) वा अन्य विधिबाट पहुँच बनाइयो भने भैरहवाको एयरपोर्ट हाम्रो होइन ?

त्यस्तै अर्को छ, बाराको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । पोखरा-निजगढको बीचमा बुलेट ट्रेन वा फास्ट ट्र्याकको व्यवस्था गर्न सक्यौं भने डेढ-दुई घण्टामै पुग्न सकिन्छ । त्यसपछि निजगढको एयरपोर्ट हाम्रो होइन ?

संसारभरि सय माइलको दूरीमा एयरपोर्ट हुन्छन् । हामीलाई चाहिँ आँगनमै एयरपोर्ट चाहिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल किन उपयुक्त हुँदैन भनेर दिल्लीको एयरपोर्टको उदाहरण हेर्दा हामीलाई पर्याप्त हुनेछ ।

सन् १९६० सम्म दिल्लीको सफदरगंज भन्ने ठाउँमा अन्तर्राष्ट्रिय एयरपोर्ट थियो । पहिला अंग्रेजहरुले प्रयोग गरे र १९६० सम्म भारतीयहरुले पनि उपभोग गरे । समय क्रममा पछि जब सफदरगंजसम्म शहर विस्तार गयो, एयरपोर्ट पालममा सारियो ।

पालममा सारेपछि पनि एयरपोर्ट २० वर्षभन्दा बढी टिकेन । किनभने शहर त्यहाँसम्मै फैलियो । त्यहाँबाट एयरपोर्ट अहिलेको गुढगाउँ, हरियाणामा लगियो । अहिले दिल्लीको आवादी विस्तार भएर गुढगाउँसम्म पुगिसक्यो । सफदरगंजमा एयरपोर्ट हुँदा दिल्लीको जनसंख्या २० लाख थियो, अहिले तीन करोड भइसक्यो । अहिले फेरि उनीहरुको एयरपोर्ट सार्नुपर्ने अवस्था छ ।

Loading...

पोखरामा बन्ने एयरपोर्ट दमौलीको लागि हो, स्याङ्जा, कुश्मा र बाग्लुङको लागि हो । पोखराको लागि होइन । यसले पोखराको विकासमा होइन, ध्वंशमा मात्रै भूमिका खेल्छ ।

म साथीहरुलाई भन्ने गर्थेँ, ‘अहिले तिमीहरु इन्टरनेशनल एयरपोर्ट चाहियो भन्दै अनशन बसेका छौं, भोलि तिमीहरुका नाति(नातिना यो एयरपोर्ट उठाऊ भनेर अनशन बस्नेछन् ।’

जसरी, अहिले गुढगाउँका मान्छेहरु त्यहाँको एयरपोर्ट हटाऊ भनेर अनशन बसेका छन् । एयरपोर्टले हामीलाई बाधा भयो, हामी असुरक्षित भयौं भनिरहेका छन् । हामी पनि त्यतै उन्मुख हुने पक्का छ ।

पोखरालाई जोगाउने हो भने…

पोखरालाई बचाउने हो भने हामीले पोखराको मौलिकतालाई बचाउने हो । पोखराको विकास पर्यटकीय शहरकै रुपमा गर्ने हो । किनकि यहाँको विशेषता र सम्भावना पर्यटन हो । यो ठाउँ मानव बस्तीले ढाकिने शहर होइन, पर्यटक ओहोरदोहोर गर्ने पर्यटन केन्द्रको रुपमा रहनुपर्छ ।

यसको लागि निर्मम अपरेशन गर्नुपर्छ । निर्मम भन्दाभन्दै पनि त्यति गाह्रो छैन ।

म भारतको उदाहरण दिएर पोखरासँग तुलना गर्छु । एक समय राजीव गान्धीले कलकत्तालाई प्रसंगवश यो ‘डेड सिटी’ (मृत शहर) हो भने । उनले सही भनेका थिए । कलकत्ता हिजो जुन साहित्य, संस्कृति र कलाको केन्द्र थियो, त्यो कलकत्ता आज मृत छ ।

राजीवले त्यसो भन्दा बंगालीहरुको मन दुख्यो । त्यो भनाइको धेरै विरोध भयो । तर, केही बंगाली विद्वानले भने, ‘राजीवले ठीकै त भनेका हुन् । हामी आफैं कलकत्तालाई मार्ने अनि बाहिरको मान्छे आएर मर्‍यो भन्दा चित्त दुखाउने रु मारेको त हामीले नै हो नि !’

कलकत्ताले त्यो नियति खेप्नुको कारण के हो भने, यति धेरै विकास र पूर्वाधारहरु त्यहाँ थुपारियो, त्यही पूर्वाधारले त्यहाँको जीवन थिचिदियो ।

कलकत्ता जस्तै पोखरा पनि मृत शहर हुन सक्छ । पोखरा अहिले मरणासन्न छ, यसलाई बौराउन सकिन्छ । यति धेरै विकास र पूर्वाधारका कुरा नगरौं, जसलाई थेग्न हम्मे परोस् ।

यसैले अब पोखरा बनाउने हो भने यो त्यति सम्हाल्नै नसक्ने गरी बिग्रिएको छैन ।

पोखराको जनसंख्या अहिले तीन लाखको हाराहारीमा छ । यदि मानवोचित पूर्वाधारसहितको पोखरा, नमूना पोखरा र पर्यटकीय केन्द्र बनाउने हो भने एक लाखभन्दा बढी आवादी यसले धान्न सक्दैन ।

पछिल्लो समय पोखरालाई दुई वटा दायित्व थपिएको छ । अझ म त दायित्व पनि भन्दिनँ, बोझ भन्छु । एउटा, प्रान्तीय राजधानी हुँदै छ र अर्को, अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्तर्राष्ट्रिय पहिचानको शहर बन्दै छ ।

पोखराको बारेमा सरकार र स्थानीय मानिसले अहिले जे सोचेका छन्, त्यो चिन्तनले यी दुईटा बोझलाई धान्न सक्दैन ।

प्रान्तीय राजधानी बन्ने कुरामा काठमाडौंमा केन्द्रीय सरकारको जे-जे संरचना छन्, अब प्रान्तीय सरकार भएपछि रक्षा मन्त्रालयबाहेक सबै मन्त्रालय त यहाँ हुन्छ । मन्त्रालय, सचिवालय र विभागहरु हुने भए । अहिले राजधानीले ती संरचना धान्न जति जमिन ओगटेको छ, धेरथोर त्यति नै जमिन यहाँ पनि चाहियो । कहाँ छ पोखरामा जमिन रु अहिले एक रोपनी जमिन खोज्दा पनि नपाउने अवस्था छ ।

प्रान्तीय राजधानीकै कुरा गर्दा हामीले पालुङटारमा प्रान्तीय राजधानी राख्दिए के बिग्रिन्छ रु किन भिड थुपार्नु छ यहाँ ?

हामी पोखरालाई ५० हजार वा एक लाखको आवादी रहने शहर बनाऔं र आठ(दस लाख मान्छेको मोबिलिटी बढाऔं । दिनमा घुमफिर र रमाइलो गर्न २० हजार मान्छे आउँछन्, २० हजार मान्छे जान्छन् । यहाँका एक लाख मान्छेको घर-घरमा, दैला-दैलामा, कन्तुर-कन्तुरमा पैसा दिन्छन् । सबै मान्छे सम्पन्न र खुसी हुन्छन् । पूर्वाधार विकासको नाममा थेग्न नसक्ने गरी किन भोलि कंगाल र भिखारीको शहर बनाउने ?

संसारमा भूगोलको आधारमा ५० वटा भित्र पर्ने हाम्रो देश सानो होइन, ठूलै हो । यो देशको समग्र भूगोललाई उपयोग गर्नुपर्‍यो ।

ग्रेटर पोखराले दिन्छ प्राण

पछिल्लो समय ग्रेटर पोखराको कुरा गर्दा हामीले माथितिर मोदी र तल मादीबीचको भागलाई महानगरको रुपमा विकास गर्नुपर्छ भन्दै छौं ।

सारा शहरहरुमा योजनाविद्हरुको सफल प्राक्टिस हो, छेउछाउमा खानेपानी, विद्यालय, अस्पताल लगायतको राम्रो सुविधा दिँदै राज्यको उपस्थिति देखियो भने कोही पनि मान्छे शहरमा आउँदैन । यस कारण पोखरालाई व्यवस्थित गर्न पोखरा आसपासको क्षेत्रलाई विकास गर्नु जरुरी छ ।

त्यसो भएमा पोखराको सुविधा उपभोग गर्न पोखरा नै बस्नुपर्ने अवस्था रहँदैन । वरिपरिको ठाउँबाट पोखरासम्मको सहज एक्सेस बनाएर आउन चाहेको बेलामा सजिलै र तुरुन्तै आउन सक्ने सडक लगायतका पूर्वाधार राज्यले बनाउनुपर्छ ।

काठमाडौंको भाग्यमा जुन कुरा छैन, त्यो हाम्रो भाग्यमा छ । त्यो हो, ‘स्याटेलाइट सिटी’ । हामीसँग त्यस्ता स्याटेलाइट सिटीका रुपमा विकास गर्न सकिने प्रशस्त ठाउँ छन् ।

पोखराबाट मुश्किलले ५० माइल पर पौने घण्टाको दूरीमा पालुङटार छ । त्यसपछि लमजुङको भोर्लेटार, करापुटार जस्ता ठाउँ छन् । पोखराबाट २० किलोमिटर पर रहेका ती ठाउँ झन्डै आधी पोखरा जत्रा उपत्यका छन् । त्यस्तै, पर्वतको कुश्मा, बाग्लुङ, स्याङ्जा, वालिङ, दमौली र खैरेनी छ । अझ ठूलो सम्भावना भएको उपत्यका भिमाद हो ।

यी ठाउँहरुको विकास गर्न सकियो भने पोखराको चाप स्वाभाविक रुपले घट्नेछ । यो पर्यटकीय शहरलाई व्यवस्थित गर्न यहाँको मानव चाप नियन्त्रण गर्नु अपरिहार्य छ ।

पोखराको सबभन्दा खतरनाक कुरा नै यहाँको आवादी हो । मैले थाहा पाउँदा समग्र पोखराको १० प्रतिशत जमिनमा मात्रै आवादी थियो । अरु सबै खुला चौर अर्थात् पाटन थिए । अहिले पनि पोखराका धेरै ठाउँहरुको नाम छोरेपाटन, बाँझापाटन, घारीपाटन, कोलपाटन आदि पाटनको नामबाटै छन् ।

तर, ती ठाउँ अतिक्रमणले भरिएर अहिले ठाउँको नाम मात्र पाटन छ । त्यसमध्ये ९० प्रतिशत जमिन सरकारले नै ओगटेको छ ।

पोखरालाई व्यवस्थित गर्न र बचाउन हामीले पोखरा डेभलपमेन्ट अथोरिटी भनेर ऐन नै बनाएर अघि बढ्न सक्छौं । विशेष बडीलाई नै जिम्मा दियो भने केही होला । त्यसको लागि ढिलो भइसकेको छ । साभार : अनलाईनखबरडटकम

(प्रकृति र संस्कृतिमा समेत रुचि राख्ने सिग्देल समाजशास्त्री हुन् ।)

Kings
Inline Banner 5
प्रतिक्रिया
लोड हुँदै ...