पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे

पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे

Mayor 1

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फिर्के खोलामा बन्ने पैदलमार्ग (फुटट्रयाक) शुभारम्भ गर्ने क्रममा एक्कासी डोजर चल्दा ठूलो दुर्घटना हुन पुगेको छ ।

शुक्रबार बिहान ९ः४० बजेतिरको समयमा औपचारिक कार्यक्रम समापन पश्चात् डोजर चलाएर निर्माण कार्य शुभारम्भ गर्ने क्रममा घटना भएको हो । डोजर चलाउने ज्ञान नभएका मेयर जिसी अपरेटर सिटमा बसेको केहि छिनमै एक्कासी डोजरको अगाडिको बकेट बायाँतिर घुम्दा छेउमा बसेर फोटो खिच्न लागेका पत्रकारहरु र सर्वसाधारण खोलातिर गुल्टिए ।

पर्खालमाथिको रेलिङमा आड लागेर बसेका उनीहरु डोजरको अघिल्लो भाग घुमेर पर्खाल नै भत्काएपछि रेलिङसँगै भिरमा खसेका हुन् । पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ सहित सर्वसाधारण गरी आधा दर्जन भिरमा खसे ।

सिर्जनाचोककी गौरी पौडेललाई माथिबाट खसेको पर्खालको ढुंगाले च्यापेर खुट्टा फ्याक्चर भएको छ । सबैभन्दा तल २० मिटर जति खसेका पत्रकार अधिकारीको हात र खुट्टामा विभिन्न भागमा चोट लागेको छ । खस्ने बित्तिकै अड्कन पुगेका पत्रकार श्रेष्ठ सामान्य छन् ।

पत्रकार अधिकारी र पौडेललाई मेट्रोसिटी अस्पतालमा उपचार गरिएको छ । गण्डकन्युज डटकमका सम्पादक समेत रहेका अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ लगायतका पत्रकार समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए । घुँडामा ढुंगाको छपनीले किचिएर गम्भिर चोट लागेका गौरी पौडेल प्रगति आमा समूहकी अध्यक्ष हुन् । उनी शुभारम्भ कार्यक्रममा सहभागी भएकी थिईन् ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, वडा नं. ५ कार्यालय र फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समिति पोखरा ५ को आयोजनामा भएको कार्यक्रममा मन्तव्यको क्रम सकिएपछि मेयर जिसी वडा अध्यक्ष धनबहादुर नेपालीसँगै डोजरमा शुभारम्भ गर्न गएका थिए । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटीले सिट छाडेर पछाडि सरेपछि मेयर जिसी बसे । अपरेटर सँगै थिए । पत्रकारहरु फोटो खिच्न थाले । एक्कासी डोजरको अगाडिको भाग बाँयातिर घुम्यो । पर्खालसहित रेलिङमा धक्का दिएर भत्क्यो, त्यहाँ रहेका आधा दर्जन खोलामा खसे । छेउमै रहेर फोटो खिच्ने पत्रकारहरुले भने मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने एक्कासी यस्तो घटना हुन पुगेको बताएका छन् ।

घटनाप्रति मेयरद्वारा दुःख व्यक्त

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दुःखद घटना हुन पुगेकोमा आफूलाई पीडाबोध भएको बताएका छन् ।

‘यसरी चलाएर नगरौं भनेको हुँ । सबैले अपरेटर हुन्छ भनेर भने । यस्तो भयो ।’ जिसीले भने – ‘मैले सोचेको पनि थिईनँ । ठूलो दुर्घटना टरेको हो । यति भयानक दुर्घटना हुँदा पनि क्षति भएन । म असाध्यै दुःखी छु यो घटनाले ।’ उनले घाईतेको पूर्ण उपचार निःशुल्क गर्ने जनाउँदै अब आगामी दिनमा आफू सचेत रहने बताए ।

पोखरा लेखनाथ महानगर वडा नं. १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग बनाउने महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ । यो काम पोखरा ५ बाट सुरु भएको हो ।

तस्विरः नारायण शाही / अनुप प्रकाश पौडेल

दुर्घटना भईरहँदाको अवस्थाका तस्विरहरु र घटना विवरण केहि समयपछि प्रकाशित गर्नेछौं: सं.

सम्बन्धित समाचार

मेरो पुनर्जन्म

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ