लालबाबु सुहाउँदो मन्त्रालय नभएको प्रतिक्रिया आएपछि यसो भन्छिन् बिमला महत पण्डित (अन्तर्वार्ता)

लालबाबु सुहाउँदो मन्त्रालय नभएको प्रतिक्रिया आएपछि यसो भन्छिन् बिमला महत पण्डित (अन्तर्वार्ता)

Lalbabu-Pandit-1

गण्डक न्युज पोखरा, ४ फागुन । भनिन्छ, एक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । र, हो पनि । कति नेता, मन्त्री आफ्नै पत्नीका कारण काम गर्न सक्दैनन् । मन्त्रीनीको रवाफ, परिवारवाद हावी, अनुचित दबाबमा आफ्ना आफन्तबाट राज्यकोष दोहन गराउने कार्यमा संलग्न गरे भएका उदाहरण प्रशस्त छन् ।

शुशिल कोईराला मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेर पनि पावरफुल मन्त्रीहरुकै दबाबदेखि विदेशी शक्तिसँग नझुकी डिभीपिआर विरुद्ध ऐन नै ल्याउन सफल रहे लालबाबु पण्डित । मुलुकमा विनाशकारी भूकम्प जाँदा मन्त्री पण्डितले गाडी चढ्न आएको प्रस्ताव नकारे, जनता भोकै छन् भनेर नयाँ गाडी किनेनन् । काठमाण्डौमा भूकम्पपीडित जनतासँगै उनी रहे । पार्टीकै पहलमा लालबाबुले ढिला गरी बिहे गरे पार्टीमै सक्रिय उपत्यकाबासी विमला महतसँग । यो जोडी हरेक हिसाबले समावेशी जोडी हो । उदाहरणीय जोडीका रुपमा मिडियामा छाउने गरेको छ ।

पण्डित केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।मन्त्रीकी श्रीमतीको रवाफ पटक्कै छैन । भेट्न आउनेलाई कम्तिमा चिया नखुवाई उनी पठाउन्न् । एकदमै स्पष्टवक्ता हुन् । लालबाबुलाई आजको लालबाबु बनाउन उनको पनि हात छ । तीन जनाको सानो परिवार, पुगेकै छ । किन गर्नुपर्यो भ्रष्टाचार, अनियमितता ? विमला हाक्काहाक्की भन्छिन् ।

दोस्रो पटक मन्त्री भएपछि विमला महत पण्डित सँग गण्डक न्युजका लागि रञ्जन अधिकारीले गरेको छोटो कुराकानी ।

दोस्रो पटक मुलुकको सेवा गर्ने अवसर मिलेको छ । तपाईंलाई पनि बधाई छ ।

धन्यवाद । र, सबैभन्दा बढी आभार म मतदाता, सम्पूर्ण नेपाली जनलाई दिन चाहन्छु । उहाँहरुले मन्त्रीकै रुपमा देख्न चाहनुभएको थियो । मतदाताले पनि पहिलो पटक मन्त्री हुँदा गरेको कामले फेरि मन्त्री बनाउनकै लागि जिताएर पठाउनुभएको थियो । नत्र, अहिलेसम्म एमालेले नजितेको ठाउँ, अर्को ठूलो पार्टीका ठूला नेताको आफ्नै ठाउँमा कसरी जितिन्थ्यो र ? उहाँहरुको सपना साकार भएको छ ।

तर लालबाबु पण्डितलाई गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयमा जनताले आशा गरेका थिए । वातावरण मन्त्रालय पो प¥यो त ?

पहिलो पटक जस्तै यसपटक पनि उस्तै भयो । त्यतिबेला पनि सामान्य प्रशासन मन्त्रालय कहाँ रोजिएको थियो र ? सबै उहाँकै आत्मकथामा छ । यसपटक पनि उहाँलाई आफू मन्त्री बन्ने कुरा पनि सपथको आधा घण्टा अघि सम्म थाहा थिएन । दौरा सुरुवाल लगाएर आउन माधव कमरेडले भन्नुभो ।

हतारमा गयौं । पूर्व मन्त्री भएकाले होला भन्ने भयो । मन्त्री बन्ने कुरा, जनसंख्या तथा वातावरण भन्ने त त्यहीं पुगेपछि नै थाहा भएको हो । अचम्मित छौं, हामी भन्दा जनता अचम्मित छन् । पक्कै पनि मन्त्रालय हेरफेर वा मिसिएला नि ।

मन्त्रीज्यू सन्तुष्ट हुनुहुन्छ ? तपाईंलाई महत्वपूर्ण मन्त्रालय नभएकोमा चित्त दुखाई हो ?

उहाँ त जनताको मन्त्रालय हो, काम नै गर्ने हो भन्नुहुन्छ । सन्तुष्ट त किन नहुनु ? छोटो अवधिमै जिम्मेवारी पाउनुभएको छ । चुनावपछि संविधान कार्यान्वयनको पहिलो सरकारमा सामेल हुनु ठूलो कुरा हो नि । उहाँले सबै कुरा मन फुकाएर भन्नु हुन्न तर जनतासँग सिधै सवाल राख्ने, काम देखिने, मुलुक कसरी कहाँबाट बिग्रिएको छ । हाँगाहाँगाबाट सुधार्ने होईन, जरैबाट सुधार्ने अपेक्षा राख्नुभएको थियो ।

अहिले सुरक्षा संयन्त्र निकै कमजोर छ । मुलुक समृद्ध बनाउने राजश्व संकलन, अनियमितता रोक, भ्रष्टाचार नियन्त्रण नै हो । त्यसैले पनि गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय भए उहाँले राम्ररी चलाउनुहुन्छ । आफूमा कुनै लोभलालच, कुनै स्वार्थ नभएपछि कोहिसँग नझुकी जनता मनमा राखेर काम गर्न सकिन्छ नि । आफ्नो भुँडी हेर्न थालियो भने पो काम गर्न सकिन्न ।

भनेपछि गृह, अर्थ जस्ता मन्त्रालय नै चाहिन्थ्यो भन्ने प्रस्ट अपेक्षा हो नि ?

पछिल्लो समय गृहमन्त्रालयबाट जे जे भयो, उहाँको चासो पनि थियो गृहमा । जो सँग क्षमता छ, बोक्न सक्ने क्षमता छ, त्यति बोकाउनुपर्छ । शितलनिवासदेखि नै प्रतिक्रिया आउन सुरु भएको हो । झसंगै भईयो सबै जना । मन्त्री नभए त अचम्म मान्नुपर्थेन । दुई जना मन्त्रीमा पहिलो रोजाई नै भयो अध्यक्षज्यू, वरिष्ठ नेताज्यूलाई धन्यवाद तर उहाँको स्प्रीट अनुसारको जिम्मेवारी दिनुपर्ने थियो । पक्कै पनि मन्त्रालय हेरफेर होला । अब मन्त्रीमण्डल संख्या सानो हुने भएकाले आशा छ । जनसंख्या सँगै स्वास्थ्य जोडिएकाले स्वास्थ्य क्षेत्र पनि जनताको प्रत्यक्ष सरोकार गाँसिएको महत्वपूर्ण विषय हुँदा यहाँ काम गर्न पाए राम्रै हुन्छ ।

नत्र त सबैले चित्त दुखाएका छन् । कति धेरै बधाई दिन आएका छन् । फेसबुकमा कमेन्टहरु पोस्टहरु हेर्न सक्नुहुनेछ । उहाँले काम गर्ने मन्त्रालय पाउनुपर्ने धेरैको माग छ । उहाँहरु खुशी पनि छौं, दुःखी पनि छौं भनेर भन्नुहुन्छ । दुःखी नहुनुहोला, काम गर्नेले काम गर्छु भन्दा पाउनुहुन्छ जस्तो लाग्छ ।

उहाँलाई सफल पार्न तपाईंको भूमिका के हुनेछ ?

म त उहाँको आधा अंग । केहि बिरामी हुँदा सबैले भन्थे, लौ हजुर तपाईंको मात्र श्रीमान् होईन, देशको लागि पनि उहाँ स्वस्थ रहिरहनुपर्छ भनेर । म उहाँको केहि कुरामा कमी हुन दिएको छैन । दिन्नँ । मैले कहिले नाजायज माग गर्दिनँ । एक त उहाँले सुन्नुपनि हुन्न होला । मैले कोहि कसैका लागि केहि माग पनि पूरा गर्न सक्दिनँ । गर्दिनँ ।

म पनि पार्टीमा स्थानीयस्तरमा क्रियाशील नै छु । हाम्रै सम्बन्ध, विवाह सबै पार्टीबाटै भएको हो । उहाँ सरल र सादा जीवनको हुनुहुन्छ । म, छोरी पनि त्यस्तै छौं । हामी फुटपाथकै कपडा, सामान किन्छौं । पाहुनालाई सत्कार गर्छु । चिन्ता केहि गर्नुपर्दैन उहाँको । उहाँ सफल हुनुहुन्छ । सिधै प्रभाव पर्ने मन्त्रालयमा पुग्नुहुनेछ भन्ने आशा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds