१० हजार बढी मतान्तरले चुनाव जित्छुः विद्या भट्टराई [अन्तर्वार्ता]

१० हजार बढी मतान्तरले चुनाव जित्छुः विद्या भट्टराई [अन्तर्वार्ता]

5

कास्कीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेकी विद्या भट्टराई (अधिकारी) निवर्तमान सांसदसमेत हुन् । तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको असमायिक निधन पछि भएको उपचुनावमा जीत हासिल गरी राजनीतिमा पुनारागमन भएकी भट्टराई आफ्नै पार्टी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालसँग चुनाव लड्दैछिन् । यसैकारण पनि कास्की क्षेत्र नं. २ को यो प्रतिष्पर्धालाई रोचक रुपमा हेरिएको छ । एमालेले लगातार जीत हाँसिल गरेको यो क्षेत्रमा फुटपछि पनि एमालेकै विरासतलाई निरन्तरता दिने अभियानमा रहेकी उम्मेदवार भट्टराईसँग गरिएको कुराकानी ।

दोस्रो पटक चुनाव लड्दै हुनुहुन्छ । कस्तो अनुभव हुँदैछ ?

अघिल्लो चुनाव म परिस्थितिवश लडेकी थिएँ । रविन्द्र अधिकारीज्यूको दुःखद देहान्तको पीडामा रहेका बेला पार्टीले मलाई नै उपयुक्त पात्र ठानेर उपचुनाव लड्न आग्रह ग¥यो । म पीडामा हुँदाहुँदै पनि मैले पार्टीको प्रस्तावलाई स्विकार गरेर चुनावमा होमिएकी थिएँ । जनताले मलाई विश्वास गरेर जिताउनुभयो । मेरो प्रतिष्पर्धी आदरणीय बुवा खेमराज पौडेल हुनुहुन्थ्यो । म विजयी भएपछि उहाँले मेरो शिरमा हात राखेर तिम्रो जीतमा म खुशी छु । नानी, राम्रो गर्नू भनेर आशिर्वाद दिनुभएको थियो । जुन मेरो लागि हौसला बन्यो । मलाई लाग्यो, मेरो जीतमा सबै खुशी छन् । म सबैकी साझा भएँ । मेरो लागि त्यो उपचुनाव नयाँ थियो । अहिले परिस्थिति बदलिएको छ । म राजनीतिमा होमिएपछि प्राध्यापन पेशाबाट अलग्गिएँ । र, पूर्णकालीन राजनीतिमा सक्रियतापूर्वक लागिरहेकी छु । अघिल्लो चुनावमा भन्दा म अहिले निकै निखारिएको महसुस गरेकी छु र आत्मबल पनि निकै बढेको छ ।

तपाईंलाई पार्टीले यत्रो विश्वास गरेर फेरि पनि टिकट प्रदान ग¥यो । केहीले तपाईंलाई टुरिष्ट उम्मेदवार भनेर चर्चा गरेको पाइन्छ । किन यसो भनिँदैछ ?

मेरो मतदाता मलाई चिन्ने जान्ने हुनुभएको भएर यसको बारेमा प्रतिक्रिया दिइरहन उचित ठान्दिनँ । म भरतपोखरीको मान्छे । स्थायी बसोबास यहीँ छ । विगतमा पनि यही क्षेत्रबाट चुनाव लडेर जितेको हो । मैले आधा कार्यकालका लागि भएको उपचुनावमा ८ हजार बढी मतान्तारले जीत हाँसिल गरेँ । यो समयमा मैले सांसदको हैसियतमा गर्नुपर्ने कार्य सबै गरेको छु । म त्यो अवस्थामा चुनाव लडेको कारणले पनि प्रचारबाजीतिर लागिनँ । र, प्रचार गर्दै हिँड्नुपर्छ भन्ने आवश्यक ठानिनँ । आज पनि धेरै जनाले मैले गरेका कामहरुको प्रशंसा गरिरहनुभएको छ । तर जसले यस्तो हल्ला फैलाउनुभयो । मेरो भन्नू केही छैन । क्षेत्र परिवर्तन गर्नेहरु को हुन् ? उहाँहरुलाई लगाइएको आरोप होला । मलाई यसबारे थाहा भएन । म आरोप प्रत्यारोपको राजनीति गर्न चाहन्नँ । रबिन्द्रजीले पनि जीवनभर यस्तो राजनीति गर्नुभएन ।

सबै पार्टीका, सबै नेताहरुलाई म रेस्पेक्ट गर्छु । प्रतिष्पर्धी सबै जनालाई श्रद्धा पनि गर्छु । यो होइन कि फरक हुने बित्तिकै मान्छेको ईमान, धर्म र नैतिकता गुम्नुपर्छ । हामी सबै स्वस्थ प्रतिष्पर्धामा उत्रिएका छौँ । चुनाव आफ्नो दलको एजेण्डा र आस्थाका आधारमा लड्ने हो ।

कम्युनिष्टहरु एक भएको बेला नेकपाबाट उपचुनाव लड्नुभयो, अहिले तीनवटा पार्टी बनेका छन्। फुटपछिका दुई पार्टी र नेपाली काँग्रेससहितको गठबन्धनबाट प्रतिष्पर्धी हुनुहुन्छ । चुनाव कत्तिको सहज ठान्नुभएको छ ?

मैले अघि पनि भनेकी थिएँ, उपचुनाव जित्दा पनि प्रतिष्पर्धीले नै मलाई खुशी हुँदै आशिर्वाद दिनुभएको थियो । संसदमा साढे २ वर्ष रहँदा म सबैको साझा प्रतिनिधिको रुपमा भूमिका निर्वाह गरेँ । मैले यो वा त्यो भनेर कहिँकतै भेदभाव गरेको छैन । मलाई सबैले साझा रुपमै लिनुहुन्छ । तसर्थ पनि मैले रत्तिभर असहज महसुस गरेकी छैन ।

हिजो रविन्द्र अधिकारीबाट फाइदा लिएकाहरूले आजको दिनमा तपाईंको जीत चाहँदैनन् भन्ने हल्ला पनि त चलेको छ नि ?

मलाई त्यस्तो लाग्दैन । कसैले पनि रविन्द्रजी र मलाई फरक देख्नुभएको छैन । जो जो हिजोका दिनमा खटिनुभएको थियो । आजका दिनमा पनि त्यसैगरी खटिनुभएको छ । सबैजना निरन्तर लागिरहनुभएको छ । मलाई सल्लाहसुझाव र आशिर्वाद मिलिरहेको छ । यसर्थ पनि यो निराधार हल्ला हो भन्ने मलाई लाग्छ ।

संसदमा तपाईंको उपस्थिति दमदार देखियो । तर पनि तपाईं चुनाव जितेर गएपछि आफ्नो मतदाताबीच फर्कनुभएन भन्ने पनि छ । के भन्नुहुन्छ ?

अवधि छोटो भयो । मैले संसदमा मेरो उपस्थितिलाई उपलब्धीमूलक बनाउनुपर्ने थियो । मैले मेरो लामो प्राध्यापन सेवा छाडेर अब पूर्णकालीन राजनीतिमा होमिएपछि सांसदको हैसियतमा भत्ता खाने, दिन कटाउने मेसो मात्र गर्नु थिएन । संसद बैठकमा मेरो उपस्थिति रहनुपर्ने थियो । त्यसैले निश्चय नै, यहाँ भन्दा बढी बसाईं काठमाण्डौ हुनु नै पथ्र्यो ।

विभिन्न समितिमा, उपसमितिमा बसेर संसदमा कार्यसम्पादन गर्नुपर्ने अवस्था थियो । जसका कारण म फर्किएर जनतामाझ पुग्न पाएकी थिइनँ । मेरो मतदाताको गुनासोको म कदर पनि गर्छु । यो घरदैलोले जनताका म प्रतिको आशा, भरोषा र विश्वास गहिरिएर बुझ्ने मौका दिलाएको छ । म सधैँ जनताका माझ बसेर जनताकै समस्या समाधानका लागि खटिन कटिबद्ध छु । म उहाँहरुको विश्वास कदापी गुम्न दिन्नँ ।

र, म अहिले नै खुलासा गर्न चाहन्छु कि अबको ५ वर्षको कार्यकालमा म जनताको गुनासो सुन्न, बुझ्न र समस्या समाधान गर्ने हेतुले हेल्प डेस्क अर्थात् सहायता कक्ष स्थापना गर्नेछु । हेल्प डेस्कमा फोन गरी क्षेत्रबासीहरुले, कस्केली जनताहरुले यहाँको समस्या, सुझाव, सल्लाह मसम्म राख्न सक्नुहुनेछ । र, मैले यसको सम्बोधन गर्नेछु । संसदमा कुनै बैठक नछुटाई, आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाई म यस क्षेत्र, समग्र नेपालकै हितमा आफूलाई समर्पित गर्नेछु ।

घर दैलोमा पुग्दा माहोल कस्तो पाउनुभएको छ ? कति मतान्तरले चुनाव जित्छु जस्तो लाग्छ ?

आज चुनाव प्रचार प्रसारको अन्तिम दिन हो । आज पनि म घरदैलोमै छु । कतिपय टोल, समुदायमा चाहेर पनि पुग्न नसकेको अवस्था छ । मेरो उम्मेदवारी दर्ता पछि म आफै डेंगु रोगबाट संक्रमित भई लामो समय अस्पताल बस्नुप¥यो । जसका कारण मेरा प्यारा मतदाता, शुभेच्छुकमाझ पुग्न सकिनँ । जहाँ जहाँ म पुगेँ, त्यहाँ धेरै जनाले जसरी पनि चुनाव जित्नुपर्छ, जित्ने तिमीले नै हो । देशका लागि, महिलाका लागि गर्नुपर्छ भनेर सुझाव र आशिर्वाद दिने गर्नुभएको छ । मबाट धेरै अपेक्षा उहाँहरुले राखेको पाएकी छु ।

साढे २ वर्षको छोटो अवधिमा मैले गरेका कामप्रति सबै सन्तुष्ट नै हुनुहुन्छ । उहाँहरुले मलाई अनुभवी प्रतिनिधिका रुपमा लिन थालिसक्नुभएको छ । त्यसैले यो पटक पूरा अवधिका लागि जिताएर पठाउँछौँ । काम गरेर देखाऊ भन्ने प्रतिक्रियाहरु पाइरहेकी छु । यो सबै माहौल हेर्दा मैले अघिल्लो चुनावभन्दा पनि बढी मतान्तरले अझै तपाईंकै प्रश्न अनुसार भन्नुपर्दा १० हजार भन्दा बढी मतान्तरले चुनाव जित्छु ।

तपाईंले चुनाव जित्नुभएको खण्डमा धेरैले सभामुख, उपसभामुख र मन्त्रीको प्रमुख दाबेदारका रुपमा ब्याख्या गरेको पाइन्छ । तपाईंले कस्तो सोच बनाउनुभएको छ ?

अघि पनि मैले भनेँ, यस क्षेत्रका जनताले मबाट ठूलो अपेक्षा राख्नुभएको छ । उहाँहरुले मलाई गहन जिम्मेवारी र भूमिकामा रहेको हेर्न चाहनुभएको छ । म उहाँहरुको यो अपेक्षा आशाको उच्च सम्मान गर्न चाहन्छु । राजनीति गर्ने मान्छेले जनभावना अनुसार चल्न सक्नुपर्छ । मेरा मतदाता र शुभेच्छुकले चाहे अनुसार नै म आफूलाई सक्रिय र गतिशील रुपमा अघि बढाउँछु । मलाई सबैले साझा रुपमै हेर्नुभएको छ । तसर्थ, अत्याधिक मतका साथ जिताएर पठाउनुहुनेछ भन्नेमा म निर्धक्क छु । तपाईंले दिएको मत खेर जान दिनेछैन । तपाईंले चाहेकै, सोचेकै, खोजेकै भूमिकामा मलाई पाउनुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds