प्रदेश ४ को नाम के राख्ने भन्ने बहस यतिखेर जोडतोडले चलेको छ । विशेषत: सामाजिक सञ्जालमा सर्वसाधारणले आ–आफ्नो राय व्यक्त गरिरहेका छन् । विभिन्न नाममध्ये गण्डक, गोरखा र तमुवानमा बढी चर्चामा छन् । संस्कृति, रीतिरिवाज, रहनसहन र परम्पराको आधारमा गण्डक प्रदेश राख्नुपर्ने एकथरीको तर्क छ ।
पोखराका अग्रज पत्रकार कुशुमकेशव पराजुली लेख्छन्ः ‘निसन्देह हामी ‘गण्डक प्रदेश’मा छौ । अहिलेका सरकारका घटकहरुले आफ्नो आधार ईलाका बनाउदा होस या साङ्गठनिक नामाकरण गर्दा गण्डक प्रदेश भनेर नै नामाकरण गरेका थिए ।’

सामाजिक सञ्जालमा पोखराका युवा रुपेश पाण्डे लेख्छन्, ‘गण्डक क्षेत्रको लोकसंस्कृति, यहाँको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ । त्यसैले यो प्रदेशको नाम ‘गण्डक’ हुनुपर्छ ।’
पर्वत सदरमुकाम कुश्माकी विद्यार्थी रश्मी लामिछाने भने दुई अञ्चल जोडिएकाले ‘गण्डकी–धौलागिरी प्रदेश’ नामाकरण गर्न उचित हुने तर्क गर्छिन् । सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘प्रदेशको नाम सर्वस्वीकार्य हुनुपर्छ । यहाँको भूगोलमा भएको नदी र हिमाल मिलाएर गण्डकी–धौलागिरि प्रदेश नाम राख्दा कसैको विमति हुन्छ जस्तो लाग्दैन ।’
गोरखाका युवा व्यवसायी सुरज श्रेष्ठ फरक विचार राख्छन् । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्नुपर्ने उनको राय छ । नेपाल एकीकरणको उद्गम थलो र वीर नेपालीलाई चिनाउने पदावली भएकोले गोरखा प्रदेश नै उपयुक्त हुने विचार उनले राखेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्ध देरराज गुरुङ पहिचानको सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने सुझाउँछन् । गण्डक नै राख्दा पनि गुरुङ वा मगर भाषामा गरिनुपर्ने उनको तर्क छ । ‘पहिचानलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ,’ उनी लेख्छन् ।
अहिले दर्जनौंका पोस्टहरुमा प्रदेशका नामबारेको चासो देख्न सकिन्छ । प्रदेशबासीका मनोभावना के छन् भन्ने बुझ्न विभिन्न व्यक्ति तथा पेजबाट नमुना सर्वेक्षण नै भएको छ ।

मत दिने क्रम जारी छ
समुदायको ऐतिहासिक निरन्तरता झल्काउँने पहिचानको आधारमा नै राखिनुपर्ने उनी बताउँछन् । गुरुङ समुदायको अस्तित्व स्थापित गर्न पनि प्रदेश ४ लाई ‘तमुवान’ नामाकरण गर्नुपर्ने तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङ बताउँछिन्् । ‘तमुवान प्रदेश राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भनिन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ सबैको सहमतिमै नाम टुंगो गरिने बताउँछन् । ‘अहिल्यै यो वा त्यो भन्ने अवस्था छैन, सबैको सहमतिमा नाम टुंगो लगाउँछौं,’ उनले भने, ‘नामकै कारण कुनै विवाद उठ्नु हुँदैन, त्यसैले हतार गर्नुभन्दा अहिले विचार गर्ने समय हो ।’
प्रदेशसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको वैठकले प्रदेशसभा वैठकको कार्यसूची तय गर्छ । माओवादी केन्द्रकी प्रमुख सचेतक गायत्री गुरुङले फागुन २० मा मात्रै समितिको वैठक बसेर कार्यसूची तय गर्ने बताइन् । आगामी वैठकको कार्यसूचीमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने विषय समावेश हुन सक्ने उनले जनाइन् । सभामुख नेत्रनाथ अधिकारीले पनि मंगलबार एक कार्यक्रममा फागुन २१ को प्रदेशसभा वैठकबाट नाम र राजधानीको टुंगो लगाउने बताएका थिए ।
यद्यपि दलहरूले भने नाम राख्ने सम्बन्धमा कुनै मानसिकता बनाइसकेका छैनन् । एमाले प्रदेश ४ का संयोजक एवं प्रदेश सांसद किरण गुरुङले पार्टीमा छलफल चलिनसकेको बताए । ‘प्रदेशसभाले नै टुंगो लगाउने विषय भएकोले पार्टीभित्र औपचारिक छलफल चलेको छैन,’ उनले भने, ‘नाममा त्यति धेरै विवाद हुन्छ जस्तो लाग्दैन ।’ उनले प्रदेश ४ को भुगोल सप्तगण्डकीको सेरोफेरो भएकोले ‘गण्डक प्रदेश’ नामाकरण गर्न उपयुक्त हुने विचार व्यक्त गरे । उनले भने, ‘पूर्वमा बुढीगण्डकी र पश्चिममा कालिगण्डकी भएकोले त्यहीं लाइन नै उपयुक्त होला ।’

माओवादी केन्द्रका प्रदेश ४ इन्चार्ज देव गुरुङले प्रदेशसभाको क्षेत्राधिकार भएकोले प्रदेश सांसदबीच छलफल चल्ने बताए । माओवादी केन्द्रबाट निर्वाचित सांसदतर्फ इंगित गर्दै उनले भने, ‘उहाँहरूले नै सल्लाह गरेर सदनमा लैजानुहुन्छ ।’ संघीय समाजवादी फोरम नेपालले प्रदेश ४ लाई ‘तमुवान–मगरात प्रदेश’ घोषणा गर्न माग गरेको छ ।
फागुन ७ मा पोखरामा भएको प्रथम प्रादेशिक भेलाले पारित गरेको संकल्प प्रस्तावमार्फत फोरमले उक्त माग गरेको हो । नेपाल मगर संघले तनहुँ, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र म्याग्दी मगर बाहुल्य जिल्ला भएको भन्दै मगरात प्रदेश राख्न माग गरेको छ ।
संविधानको धारा २८८ को २ मा सरकारले तोकेको अस्थायी केन्द्रलाई प्रदेशसभाको दुई तिहाइ बहुमतले परिवर्तन गर्न सक्ने व्यवस्था छ । धारा २९५ को २ मा प्रदेशको नामाकरण पनि प्रदेशसभाको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था संविधानमा उल्लेख छ ।
सन्दर्भ सामाग्री: कान्तिपुरमा प्रकाशित समाचार
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल