विमान दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि, ३३ नेपालीमध्ये १५ जना MBBS का विद्यार्थी, ब्ल्याक बक्स फेला पर्यो (तस्विर/भिडियो)

विमान दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि, ३३ नेपालीमध्ये १५ जना MBBS का विद्यार्थी, ब्ल्याक बक्स फेला पर्यो (तस्विर/भिडियो)

crash (6)

काठमाडौँ, फागुन २८ / युएस बंगला विमानमा सवारमध्ये ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, दुर्घटनाग्रस्त विमानबाट २८ जनाको शब बाहिर निकालिएको हो । ९ जना उपचारका क्रममा मृत्यु भएको छ ।

महानगरीय प्रहरी कन्ट्रोल कक्षका अनुसार ८ जनाको शब केएमसी अस्पताल सिनामंगल र एकजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए। यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए। विमानबाट ६ जना यात्रुको शब निकाल्न सकिएको छैन।

https://www.facebook.com/gandaknews/videos/792261904299397/

दुर्घटनाग्रस्त जहाजमा १५ जना नेपाली विद्यार्थी

दुर्घटनाग्रस्त युसएस बंगलाको जहाजमा १५ जना नेपाली विद्यार्थी रहेको खुलेको छ। उनीहरु एमविविएस अध्ययनका लागि बंगलादेशका विभिन्न कलेजमा अध्ययनरत थिए।

दुर्घटनाग्रस्त जहाजमा परेका १५ विद्यार्थी बाहेक बाँकी १५ जना ट्राभल एजेन्सीमा काम गर्ने नेपालीहरु थिए।

विमानमा ३३ जना नेपाली भएको खुलासा

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमानदुर्घटनाग्रस्त विमानमा ३३ जना नेपाली रहेका थिए ।

नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना रहेका थिए ।

त्यसमा ३३ जना नेपाली नागरिक थिए भने अन्य विदेशी नागरिक हुन् । अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।

ब्ल्याक बक्स फेला पर्यो, घाइते सबैको बर्न इन्जुरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजको ब्य्याक बक्स फेला परेको छ ।

‘दुर्घटनामा पचास भन्दा बढी यात्रुकाे मृत्यु भएको अाश‌ंका छ ।’ त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले  भने, ‘यकिन विवरण संकलन गरिरहेका छौ । शव निकाल्ने काम पनि जारी छ ।’

यो विमान दुर्घटनामा उद्दार गरी अस्पताल पुर्याइएका सबै जसोको बर्न इन्जुरी छ । केएमसी अस्पताल लगिएका बीस मध्ये छ सात जनाकाे बाटैमा निधन भएको थियो भने बाँकीको अपरेशन थिएटरमा उपचार भइरहेको छ । त्यसैगरी नर्भिक अस्पतालमा पाँच जना लगिएको छ ।

जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री विमानस्थलमा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्। ‌‌

ओली दिउँसो ४ बजे दुर्घटनास्थल पुगेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न उनीहरूको उपचार भइरहेका अस्पताल पनि जाने बताइएको छ। घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पताल, नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत सरकारका उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन्।

नेपालका लागि बंगलादेशकी राजदूत पनि दुर्घटनास्थल पुगेकी छन्। बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा ४ चालकदलका सदस्यसहित ७१ जना रहेको बताइएको छ। विमानबाट १७ जना यात्रुको उद्दार गरिएको सुरक्षा निकाय र विमानस्थल स्रोतले जानकारी दिएको छ।

जहाज दुर्घटनाको कारण गलत दिशाबाट अवतरण

युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो।

यसरी अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसके पछि विमान दुर्घटना भएको विमानस्थल क्षेत्रीले जानकारी दिए।

.

.

.

.

तस्विर: नेपाल खबर र नागरिक न्युज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ